काठमाडौं — प्रधानमन्त्री सुशीला कार्कीसमक्ष आज नेपालका लागि इजरायली राजदूत स्मुलिक एरी बासले शिष्टाचार भेट गर्नुभएको छ।
आज अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटका अवसरमा राजदूत बासले नेपालको प्रथम महिला प्रधानन्यायाधीश तथा प्रथम महिला प्रधानमन्त्रीका रूपमा इतिहास कायम गर्नुभएकोमा प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।
प्रधानमन्त्री कार्कीले धन्यवाद ज्ञापन गर्दै नेपाल–इजरायलबीचको मित्रवत् कूटनीतिक सम्बन्ध ६५ वर्ष पूरा भएकोमा खुसी व्यक्त गर्नुभयो। उहाँले दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ र नयाँ उचाइमा पुर्याउन दुवै पक्षबाट निरन्तर प्रयास आवश्यक रहेको बताउनुभयो।
राजदूत बासले नेपाल र इजरायलबीचको सम्बन्ध सुमधुर रहेको उल्लेख गर्दै यसलाई थप प्रगाढ बनाउन इजरायल प्रतिबद्ध रहेको जानकारी गराउनुभयो। साथै, हालै दुई मुलुकबीच श्रम आप्रवासनसम्बन्धी सम्झौता तथा त्यसको कार्यान्वयनसम्बन्धी प्रोटोकल पारित भएकोमा नेपाल सरकारप्रति धन्यवाद व्यक्त गर्नुभयो। उक्त सम्झौताले नेपाली कामदारलाई इजरायलमा रोजगारीका लागि कानुनी आधार प्रदान गर्ने उहाँको भनाइ थियो।
प्रधानमन्त्री कार्कीले नेपाली नागरिकलाई रोजगारीको अवसर उपलब्ध गराएकोमा इजरायल सरकारलाई धन्यवाद दिँदै वर्तमान सरकारको प्रमुख प्राथमिकता प्रतिनिधिसभाको निर्वाचन रहेको जानकारी गराउनुभयो। निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको उहाँले उल्लेख गर्नुभयो।
भेटका अवसरमा दुवै पक्षले नेपाल–इजरायल कूटनीतिक सम्बन्ध स्थापनाको ६५औँ वर्षगाँठको अवसरमा केही महत्वपूर्ण कार्यक्रम तथा पहलहरू अगाडि बढाउने विषयमा समेत जोड दिएका थिए।