पात्रो

रेडियो

समाचार खोजी

जेन जी आन्दोलनको क्षति ८४ अर्ब नाघ्यो, पुनर्निर्माणमै ३६ अर्ब खर्चिने

साझा अर्थ संवाददाता २४ पुष २०८२, बिहिवार

काठमाडौं, २४ पुस । गत भदौ २३ र २४ गते भएको जेन जी आन्दोलन का क्रममा देशभर भएको भौतिक तथा आर्थिक क्षतिको पुनर्निर्माण, मर्मत र नयाँ संरचना निर्माणका लागि ३६ अर्ब ३० करोड रुपैयाँभन्दा बढी खर्च लाग्ने सरकारी अनुमान सार्वजनिक भएको छ।

आन्दोलनबाट भएको क्षतिको मूल्याङ्कन तथा पुनर्निर्माण कार्ययोजना तयार गर्न मन्त्रिपरिषद् बैठकले गत असोज ५ गते राष्ट्रिय योजना आयोगका सचिवको संयोजकत्वमा गठन गरेको पाँच सदस्यीय समितिले तयार पारेको प्रतिवेदनमा सो खर्च अनुमान गरिएको हो।

प्रतिवेदनअनुसार सार्वजनिक क्षेत्रमा क्षति भएका भवनको पुनर्निर्माण तथा मर्मत, सवारी साधन र अन्य भौतिक सामग्रीको खरिद तथा मर्मतका लागि ३६ अर्ब ३० करोड २१ लाख रुपैयाँ आवश्यक पर्ने देखिएको छ।
यसअन्तर्गत:

  • भवन पुनर्निर्माण तथा मर्मत: १९ अर्ब ९८ करोड ९८ लाख

  • सवारी साधन खरिद/मर्मत: ६ अर्ब १६ करोड ८० लाख

  • अन्य भौतिक सामग्री: १० अर्ब १४ करोड ४२ लाख रुपैयाँ

समितिको प्रतिवेदनले जेन जी आन्दोलनबाट देशभर कुल ८४ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको उल्लेख गरेको छ। प्रतिवेदनअनुसार यो क्षति देशको कुल गार्हस्थ्य उत्पादन (GDP) को १.३८ प्रतिशत र चालु आर्थिक वर्षको कुल बजेटको ४.३० प्रतिशत बराबर हो।

कुल क्षतिमध्ये ५३ प्रतिशत सरकारी तथा सार्वजनिक क्षेत्रमा, ४० प्रतिशत निजी क्षेत्रमा र ७ प्रतिशत सामुदायिक तथा अन्य क्षेत्रमा परेको प्रतिवेदनमा उल्लेख छ।

प्रदेशगत रूपमा सबैभन्दा बढी क्षति बागमती प्रदेशमा भएको छ। कुल क्षतिमा यस प्रदेशको हिस्सा ६६.५ प्रतिशत रहेको छ। रकमका आधारमा:

  • बागमती प्रदेशमा ५६ अर्ब २३ करोड,

  • कोशीमा १० अर्ब २४ करोड,

  • लुम्बिनीमा ५ अर्ब ९९ करोड,

  • मधेशमा ४ अर्ब ९२ करोड,

  • गण्डकीमा ४ अर्ब १ करोड,

  • सुदूरपश्चिममा २ अर्ब ४० करोड,

  • कर्णालीमा ६२ करोड रुपैयाँ बराबरको क्षति भएको छ।

आन्दोलनका कारण वस्तु तथा सेवा उत्पादनमा १३ अर्ब ८७ करोड ५६ लाख रुपैयाँ बराबरको नोक्सानी पुगेको प्रतिवेदनमा उल्लेख छ। यसका साथै २,९९९ जनाको रोजगारीमा प्रत्यक्ष असर परेको छ, जसमध्ये २,३५३ जनाले पूर्ण रूपमा रोजगारी गुमाएका छन्।

भौतिक संरचनातर्फ हेर्दा आन्दोलनका क्रममा २,६७१ वटा भवन क्षतिग्रस्त भएका छन्, जसमध्ये ७९.८ प्रतिशत सार्वजनिक भवन रहेका छन्।
क्षतिको विवरणअनुसार:

  • भवनमा ३९ अर्ब ३१ करोड ७५ लाख,

  • सवारी साधनमा १२ अर्ब ९३ करोड ६१ लाख,

  • अन्य भौतिक सम्पत्तिमा २० अर्ब ३६ करोड ४० लाख,

  • नगद तथा बहुमूल्य वस्तुमा २ अर्ब ८१ करोड ३४ लाख,

  • अन्य अस्थायी तथा निजी सम्पत्तिमा ९ अर्ब २ करोड ६७ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

प्रतिवेदनमा आन्दोलनका क्रममा भएको मानवीय क्षति पनि समेटिएको छ। जेन जी आन्दोलनका कारण ७७ जनाको मृत्यु भएको थियो, जसमध्ये ७३ जना पुरुष र ४ जना महिला छन्। मृत्यु भएकामध्ये १३ देखि २८ वर्ष उमेर समूहका ३९ जना रहेको विवरणमा उल्लेख छ।

125 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु