१३ पुस, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) बाट सन् २०२५ को जनवरीदेखि नोभेम्बरसम्मको ११ महिनाको अवधिमा कुल ७८ लाख १७ हजार ३ सय ४९ यात्रु ले सेवा लिएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार यस अवधिमा अन्तर्राष्ट्रिय र आन्तरिक दुवै उडानतर्फ यात्रु चाप उच्च रहेको देखिएको छ।
प्राधिकरणको तथ्यांकअनुसार कुल यात्रुमध्ये ४० लाख ९८ हजार ५ सय ४९ जना अन्तर्राष्ट्रिय र ३७ लाख १८ हजार ८ सय जना आन्तरिक यात्रु रहेका छन्। अन्तर्राष्ट्रियतर्फ काठमाडौं विमानस्थलबाट २० लाख ९४ हजार ८ सय ७७ यात्रु विदेश प्रस्थान गरेका छन् भने २० लाख ३ हजार ६ सय ७२ यात्रु विदेशबाट नेपाल आएका छन्।
आन्तरिक उडानतर्फ भने ११ महिनामा १९ लाख ३६ हजार ४ सय २६ यात्रु काठमाडौंबाट बाहिरिएका छन्। अन्य आन्तरिक विमानस्थलबाट काठमाडौं अवतरण गर्ने यात्रु संख्या १७ लाख ८२ हजार ३ सय ७४ रहेको छ।
उडान सञ्चालनतर्फ नोभेम्बरसम्म अन्तर्राष्ट्रिय उडानका जहाज १४ हजार १ सय २५ पटक अवतरण र १४ हजार १ सय २६ पटक उडान भरेका छन्। आन्तरिकतर्फ काठमाडौंमा ४२ हजार २ सय ६४ पटक अवतरण र ४२ हजार २ सय ७८ पटक उडान भएका छन्।
कार्गो ओसारपसारमा पनि त्रिभुवन विमानस्थलको हिस्सा प्रमुख देखिएको छ। अन्तर्राष्ट्रियतर्फ कुल २ करोड २५ लाख १० हजार २ सय २ किलो सामान ओसारपसार भएको छ। आन्तरिकतर्फ भने ३० लाख ३० हजार ८ सय ८ किलो सामान ढुवानी भएको प्राधिकरणले जनाएको छ। त्रिभुवन विमानस्थल अन्तर्राष्ट्रिय व्यापारको प्रमुख हवाई नाकामध्ये एक मानिन्छ।
यात्रु व्यवस्थापनको प्रवृत्ति हेर्दा त्रिभुवन विमानस्थलले पछिल्ला वर्षमा निरन्तर वृद्धि देखाएको छ। सन् २०२४ मा यस विमानस्थलले ९४ लाख २३ हजार ७ सय २५ यात्रु व्यवस्थापन गर्दै रेकर्ड कायम गरेको थियो। सन् २०२३ मा भने ८६ लाख ५४ हजार यात्रु ले सेवा लिएका थिए। प्राधिकरणका अनुसार विमानस्थलको वार्षिक क्षमता करिब ८० लाख यात्रु रहेको भए पनि हाल क्षमताभन्दा बढी यात्रु व्यवस्थापन भइरहेको छ।
यात्रु चाप काठमाडौंमै केन्द्रित हुँदा अन्य अन्तर्राष्ट्रिय विमानस्थलमा भने उडान गतिविधि सीमित देखिएको छ। भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले ११ महिनामा कुल १३ हजार ४ सय ३२ अन्तर्राष्ट्रिय यात्रु लाई सेवा दिएको छ। यसमध्ये ७ हजार १ सय ७ यात्रु प्रस्थान र ६ हजार ३ सय २५ यात्रु आगमन भएका छन्। सोही अवधिमा आन्तरिकतर्फ ३ लाख ४१ हजार ४ सय ६३ आगमन र ३ लाख ३३ हजार ८ सय ७१ प्रस्थान दर्ता भएको छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको हकमा आन्तरिक र बाह्य यात्रु संख्या संयुक्त रूपमा गणना गरिएको छ। प्राधिकरणका अनुसार पोखरा विमानस्थलले ११ महिनामा कुल ७ लाख ९८ हजार ७ सय ९१ यात्रु लाई सेवा दिएको छ। यसमध्ये ३ लाख ८३ हजार ७ सय ५७ आगमन र ४ लाख १५ हजार ३४ प्रस्थान रहेका छन्।
प्राधिकरणले यात्रु चापको सन्तुलित वितरणका लागि अन्य अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान विस्तार आवश्यक रहेको निष्कर्ष निकालेको छ।