पात्रो

रेडियो

समाचार खोजी

भाटभटेनीको तीन दिनमै दोस्रो भूमिपूजन, चितवनमा दुई अर्ब लगानीमा साततले स्टोर खुल्ने

साझा अर्थ संवाददाता २६ भदौ २०८१, बुधवार

भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष मीनबहादुर गुरूङ र उनकी पत्नी सावित्री गुरूङले बुधबार बिहान रत्ननगर(३ स्थित भाटभटेनीको २९ ‌औं शाखा भवन निर्माणको भूमि पूजन गरेका छन् । पोखराको तालचोकमा २८ ‌औं शाखा शिलान्यास गरेको तेस्रो दिनमै चितरवनको रत्ननगरमा भाटभटेनीको २९ औं शाखा शिलान्यास भएको हो । 


रत्ननगरमा १ वर्षभित्र स्टोर सञ्चालन गर्ने लक्ष्यसहित भवनको शिलान्यास गरिएको अध्यक्ष गुरूङले जानकारी दिए । प्राविधिक कारणले ढिला भए १४ महिनाभित्र स्टोर सञ्चालनमा आइसक्ने उनको भनाइ छ । गुरुङले २४ गते पोखराको तालचोकमा २८ औं शाखाको जगपुजा गरेका थिए ।

७ तले रत्ननगर स्टोरको हरेक तलाको क्षेत्रफल ४६ हजार वर्गफिटको हुनेछ । टाँडीका जनतालाई सहजता प्रदान गर्न खुल्न लागेको यो स्टोरमा करिब ५ सय जनालाई रोजगारी दिने योजना रहेको गुरुङले सुनाए ।


टाँडीको यो शाखा चितवनको दोस्रो हुनेछ । यसअघि भरतपुरमा पनि भाटभटेनीको स्टोर सञ्चालनमा छ ।

टाँडी शाखामा फिल्म हल, फुड कोर्ड र बालबालिका लागि खेल क्षेत्रसमेत तयार हुनेछ । यो शाखा करिब दुई अर्ब रुपैयाँ लागतमा तयार हुनेछ ।

देशका मुख्य सहरहरू काठमाडौं, ललितपुर, भक्तपुर, भरतपुर, बुटवल, नेपालगञ्ज, विराटनगर, जनकपुर, वीरगञ्ज सहरमा भाटभटेनी सञ्चालनमा छ ।

सोमबार जगपुजा गरिएको तालचोक स्टोर एक अर्ब लागतमा बन्नेछ । सो स्टोर २ लाख २५ हजार ६ सय स्क्वायर फिट क्षेत्रफलको हुनेछ । सो भवनमा दुईवटा सिनेमा हल पनि रहने छ ।

नयाँ प्रक्रिया अनुरूप जागिर खाने र काम गर्ने रोजगारलाई हरेक हप्ताको अन्त्यमानै उनीहरूले सो हप्ता कमाएको तलब पाउँछन् ।

गुरुङले यसअघि काठमाडौंमा बन्न लागेको बाल अस्पतालका लागि ४१ करोड सहयोगको घोषणा गर्दै काम अघि बढाइसकेका छन् । त्यसबाहेक २०६८ सालमा ११ करोड खर्च गरेर काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालको इमर्जेन्सी भवन निर्माण गरिदिएका थिए ।

भूकम्पलगत्तै सोही अस्पतालमा गुरुङले १५ करोड लागतमा ईएचएस भवन निर्माण गरिदिएका छन् । उनैले अहिलेसम्म १४ जनालाई एमबीबीएस अध्ययन गराएका छन् । रोल्पा, खोटाङ, मुगु, डोल्पा, बैतडी, दार्चुला, संखुवासभा, ताप्लेजुङ, पाँचथर र कालीकोटका गरी १४ जनालाई एमबीबीएस तहको अध्ययन गराएका हुन् । उनीहरूको सम्पूर्ण खर्च भाटभटेनीले नै बेहोर्दै आएको छ ।

207 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ