पात्रो

रेडियो

समाचार खोजी

राष्ट्र बैंकको सम्पत्ति–दायित्व २९.२३% ले उकालो, कुल आकार २६ खर्ब ७१ अर्ब

साझा अर्थ संवाददाता १ मंसिर २०८२, सोमवार

काठमाडौं । नेपाल राष्ट्र बैङ्कको सम्पत्ति तथा दायित्व अघिल्लो वर्षको तुलनामा २९.२३  प्रतिशतले बढेर २६ खर्ब ७१ अर्ब पुगेको छ ।
नेपाल राष्ट्र बैङ्कले अर्थमन्त्री रामेश्वर खनाल समक्ष पेश गरिएको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनका अनुसार राष्ट्र बैङ्कको सम्पत्ति तथा दायित्व गत वर्ष असार मसान्तको तुलनामा २९.२३ प्रतिशतले बृद्घि भई यो वर्षको असार मसान्तमा २६ खर्ब ७१ अर्ब २३ करोड ९५ लाख ४० हजार पुगेको हो ।
राष्ट्र बैङ्कका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले उक्त प्रतिवेदन अर्थमन्त्री  खनालसमक्ष पेस गर्नुभएको हो ।
प्रतिवेदन तीन वटा खण्डमा विभाजित छ । प्रतिवेदनको पहिलो खण्डमा आर्थिक वर्ष २०८१/८२ को समष्टिगत आर्थिक तथा वित्तीय स्थितिलाई समेटिएको छ ।
दोस्रो खण्डमा बैङ्कका कामकारबाहीको विवरण र तेस्रो खण्डमा बैङ्कको गत आर्थिक वर्षको वित्तीय विवरणलाई प्रस्तुत गरिएको छ । वित्तीय विवरणमा गत आर्थिक वर्षको अन्तिम लेखापरीक्षणका विवरणलाई समेटिएको छ ।
वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ को विदेशी विनिमय तथा अन्य सम्पत्ति पुनमूल्याङ्कन लाभ हानि समायोजन अघिको खुद आय अघिल्लो वर्षको तुलनामा ९.११ प्रतिशतले बृद्धि भई ८० अर्ब ४८ करोड २६ लाख ५० हजार रुपियाँ कायम भएको छ ।
प्रतिवेदनका अनुसार गत असार मसान्तमा कायम कुल सम्पत्तिमा लगानीको अंश ८८.९२ प्रतिशत, नगद तथा बैङ्क मौज्दात सम्पत्तिको अंश ७.३२ प्रतिशत र बाँकी अन्य सम्पत्तिको अंश ३.७६ प्रतिशत रहेको छ ।
यस्तै गत वर्षको असार मसान्तमा उक्त सम्पत्तिहरूको अंश क्रमशः ८९.२३ प्रतिशत, ६.३७ प्रतिशत र ४.४१ प्रतिशत रहेको थियो ।
राष्ट्र बैङ्कले विभिन्न उपकरणमा गरेको लगानी २०८१ असार मसान्तको तुलनामा २८.७९ प्रतिशतले बृद्घि भई २०८२ असार मसान्तमा २३ खर्ब ७५ अर्ब २६ करोड २ लाख ९२ हजार रुपियाँ पुगेको छ । गत वर्षको असार मसान्तमा उक्त लगानी १८ खर्ब ४४ अर्ब ३० करोड ३८ लाख ३५ हजार रुपियाँ रहेको थियो ।
राष्ट्र बैङ्कको नगद तथा बैङ्क मौज्दात सम्पत्ति २०८१ असार मसान्तको तुलनामा ४८.५१ प्रतिशतले बृद्घि भई २०८२ असार मसान्तमा एक खर्ब ९५ अर्ब ५३ करोड १० लाख १० हजार रुपियाँ पुगेको छ । गत वर्षको असार मसान्तमा नगद तथा नगद सरहका सम्पत्ति एक खर्ब ३१ अर्ब ६६ करोड ४५ लाख २२ हजार रुपियाँ रहेको थियो ।
गत असार मसान्तको कुल दायित्व तथा इक्विटीमा दायित्वको अंश ७४.६९ प्रतिशत र इक्विटीको अंश २५.३१ प्रतिशत रहेको छ । जुन गत वर्षको असार मसान्तमा  उपयुक्त दायित्व तथा इक्विटीहरूको अंश क्रमशः ७३.४५ प्रतिशत र २६.५५ प्रतिशत रहेको थियो ।
गत असार मसान्तमा कायम कुल दायित्वमा चलनचल्तीमा रहेको नोटको अंश ३७.६० प्रतिशत, बैङ्क तथा वित्तीय संस्थाहरूको स्वदेशी तथा विदेशी मुद्रामा रहेको निक्षेप दायित्वको अंश ५२.७९ प्रतिशत, नेपाल सरकारको निक्षेप दायित्वको अंश ३.५५ प्रतिशत र बाँकी अन्य दायित्वको अंश ६.०७ प्रतिशत रहेको छ ।
गत असार मसान्तमा उक्त दायित्वहरूको अंश क्रमशः ४४.७९ प्रतिशत, ४३.४१ प्रतिशत, ४.२१ प्रतिशत र ७.५९ प्रतिशत रहेको थियो ।
गत वर्षको असार मसान्तको तुलनामा चलनचल्तीमा रहेको नोट १०.३० प्रतिशतले बृद्घि भई २०८२ असार मसान्तमा सात खर्ब ५० अर्ब ११ करोड २४ लाख २२ हजार रुपियाँ पुगेको छ । गत वर्षको असार मसान्तमा चलनचल्तीमा रहेको नोटको रकम छ खर्ब ८० अर्ब चार करोड ८८ लाख तीन हजार रुपियाँ रहेको थियो ।
बैङ्क तथा वित्तीय संस्थाहरूको राष्ट्र बैङ्कमा स्वदेशी तथा विदेशी मुद्रामा रहेको  निक्षेप गत वर्षको असार मसान्तको तुलनामा ५९.८१ प्रतिशतले बृद्घि भई २०८२ असार मसान्तमा १० खर्ब ५३ अर्ब १७ करोड ९१ लाख ४० हजार पुगेको छ । गत वर्षको असार मसान्तमा त्यस्तो निक्षेप दायित्व छ खर्ब ५९ अर्ब तीन करोड ७१ लाख २४ हजार रहेको थियो ।

98 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ