काठमाडौं । लक्ष्मी सन्राइज क्यापिटलले आफ्ना सेयरधनीहरुलाई १५.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । क्यापिटलले आफ््नो १५ औं वार्षिक साधारणसभाले सेयरधनीलाई चुक्ता पुँजीको १५.७९ प्रतिशत अर्थात् ७.७२ करोड रुपियाँ(कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
कम्पनीले असार मसान्त २०८२ को वासलात बमोजिम प्रति सेयर आम्दानी १८.२० रहेकोमा वितरण योग्य आम्दानी १७.८३ प्रतिशत मध्येबाट उक्त परिणाममा नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
साधारणसभामा कम्पनीले करिब छ अर्ब बराबरको पाँच वटा बन्दमुखी म्युचुअल फण्ड र एक खुल्लामुखी म्युचुअल फण्ड सञ्चालन गर्दै आईरहेकोमा छ वटै म्युचुअल फण्डले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट दोहोरो अंकको प्रतिफल वितरण गर्न सफल भएको जनाएको छ ।
साथै, विशिष्टीकृत लगानी कोष अन्तरगत एक अर्ब पुँजी भएको लक्ष्मी सस्टनेवल ईनर्जी फण्डले दिगो उर्जाका क्षेत्रहरुमा लगानी गर्ने उद्देश्य राखेको कम्पनीले जनाएको छ ।
साधारणसभामा प्रस्तुत भएका सामान्य प्रस्तावहरुमा आ.व. २०८१/८२ को वार्षिक प्रतिवेदन, सोही अवधिको आषाढ मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण सम्बन्धी प्रस्ताव पारित गरियो र आ.व. २०८२/८३ को लेखापरीक्षण कार्य सम्पन्न गर्न लेखा परिक्षक नियुक्ती गर्ने सम्बन्धमा हाल कायम रहेका लेखा परिक्षकलाई निरन्तरता दिने निर्णय गरिएको छ ।