काठमाडौं । एनआईसी एशिया बैङ्क लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले बिहीबार पदभार ग्रहण गर्नुभएको छ ।
बैङ्क सञ्चालक समितिको ७३६ औं बैंठकको निर्णय बमोजिम शाक्यलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको थियो ।
झन्डै तीन दशकदेखि नेपालको बैङ्किङ प्रणालीमा विशिष्ट योगदान पु¥याउँदै आउनुभएका शाक्य भारतको नयाँ दिल्लीस्थित दिल्ली युनिभर्सिटीबाट ब्याचलर इन कमर्श र भारतकै इन्स्टिच्युट अफ प्रोडक्टिभिटी एण्ड म्यानेजमेन्ट, लखनउबाट व्यवस्थापनमा स्नातकोत्तर उत्तिर्ण गर्नुभएको छ ।
सन् १९९६ देखि तत्कालिन नेपाल श्रीलंका मर्चेन्ट बैङ्कबाट बैङ्किङ यात्रा शुरु गर्नु भएका शाक्यले हिमालयन बैङ्क, तत्कालिन लक्ष्मी बैङ्कहुँदै सन् २००७ देखि तत्कालिन बैङ्क अफ एशिया नेपालमा बिजनेस बैङ्किङ प्रमुखका रुपमा जिम्मेवारी निर्वाह गर्नु भएको थियो । तत्कालिन बैङ्क अफ एशिया नेपाल र एनआईसी बैङ्कको मर्जर प्रकृयामा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका प्रमुख कार्यकारी अधिकृत शाक्यले मर्जरपछि बनेको एन आईसीएशिया बैङ्कमा सहायक महाप्रबन्धकको रुपमा कर्पोरेट बैङ्किङ प्रमुख भई महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।
यस्तै तत्कालिन सिभिल बैङ्क, तत्कालिन जनता बैङ्क, ग्लोबल आईएमई बैङ्कमा नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गरिसक्नुभएका शाक्य एनआइसी एसिया बैङ्कमा प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त हुनुपूर्व नबिल बैङ्कमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत हुनुहुन्थ्यो ।