काठमाडौं, कात्तिक १४ गते । गोल्छा समूहको पल्सर बाइक दोस्रो नेपाल प्रिमियर लिग (NPL) को ‘टु–ह्वीलर पार्टनर’ बनेको छ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा गोल्छा समूहका निर्देशक अभिमन्यु गोल्छा र नेपाल क्रिकेट संघ (CAN) का सचिव पारस खड्काबीच सम्झौता हस्ताक्षर भएको हो। सम्झौता अनुसार गोल्छा समूहले लिगका उत्कृष्ट तीन खेलाडी, सर्वाधिक रन बनाउने खेलाडी, सर्वाधिक विकेट लिने खेलाडी र उदाउँदो खेलाडीलाई पल्सर N160 मोटरसाइकल पुरस्कारस्वरूप प्रदान गर्नेछ।
अभिमन्यु गोल्छाले पल्सर सधैं खेलकुद र युवाको उर्जासँग जोडिएको ब्रान्ड भएको बताउँदै यस साझेदारीले नेपाली क्रिकेटलाई थप ऊर्जा र उत्साह दिने विश्वास व्यक्त गरे।
त्यसैगरी, CAN सचिव पारस खड्काले यस सहकार्यलाई नेपाली क्रिकेटका लागि सकारात्मक कदमको रूपमा व्याख्या गर्दै दोस्रो संस्करणका तयारी अन्तिम चरणमा पुगेको र छिट्टै विस्तृत जानकारी सार्वजनिक गर्ने बताए।
दोस्रो नेपाल प्रिमियर लिग मंसिर १ गतेदेखि सुरु हुने तय गरिएको छ।