चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा नेपालमा रेमिट्यान्स आप्रवाह ३३.१ प्रतिशतले बृद्धि भई ३ खर्ब ५२ अर्ब रुपैयाँ पुगेको छ। भदौ महिनामात्रै १ खर्ब ७४ अर्ब रेमिट्यान्स भित्रिएको छ। अमेरिकी डलरमा रेमिट्यान्स २७.६प्रतिशतले बढेर २ अर्ब ५२ करोड डलर पुगेको छ। वैदेशिक रोजगारीका लागि ९० हजारभन्दा बढी नयाँ श्रम स्वीकृति जारी गरिएको छ, जुन अघिल्लो वर्षको तुलनामा उल्लेखनीय बृद्धि हो।
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा साढे तीन खर्ब बढीको रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैङ्ले मङ्गलबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार समिक्षा अवधिमा रेमिट्यान्स आप्रवाह ३३.१ प्रतिशतले बृद्धि भई तीन खर्ब ५२ अर्ब आठ करोड पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह १५.८ प्रतिशतले बढेको थियो ।
अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह १५.८ प्रतिशतले बढेको थियो । २०८२ भदौ महिनाको रेमिट्यान्स आप्रवाह एक खर्ब ७४ अर्ब ६७ करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा रेमिट्यान्स आप्रवाह एक खर्ब २७ अर्ब ९९ करोड रहेको थियो ।
समीक्षा अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २७.६ प्रतिशतले बृद्धि भई दुई अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.२ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) तीन खर्ब ८४ अर्ब ८८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय दुई खर्ब ८७ अर्ब ७६ करोड रहेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ९० हजार १९८ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ४५ हजार ८८४ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ७६ हजार ४८५ र ४० हजार ५८३ रहेको थियो ।