पात्रो

रेडियो

समाचार खोजी

भुक्तानी प्रणालीको रूपान्तरण: नेसनल पेमेन्ट स्विच र इकोसिस्टम मस्यौदा तयार

साझा अर्थ संवाददाता २७ असोज २०८२, सोमवार
समाचार सारांश

राष्ट्र बैंकले डिजिटल भुक्तानी प्रणालीलाई एकीकृत, पारदर्शी, सुरक्षित र समावेशी बनाउने उद्देश्यसहित ‘नेसनल पेमेन्ट स्विच र नेसनल पेमेन्ट इकोसिस्टम’ सम्बन्धी मस्यौदा सार्वजनिक गरेको छ। यसले बैंक, वालेट, क्यूआर, कार्ड आदिबीच अन्तरसञ्चालनयोग्यता कायम गर्दै एकीकृत भुक्तानी प्लेटफर्म विकास गर्ने प्रस्ताव राखेको छ। साथै, सीमापार  कारोबारलाई सजिलो, सुरक्षित बनाउने र आरटीजीएस मार्फत सेटलमेन्ट प्रणाली सुधार्ने लक्ष्य राखिएको छ। राष्ट्र बैंकले मंसिर २० गतेसम्म सुझावहरू माग गरेको छ।

This summary was generated by AI and has been editorially reviewed.

काठमाडौं । डिजिटल भुक्तानी प्रणालीलाई थप व्यवस्थित, पारदर्शी, समावेशी र दिगो बनाउन नेपाल राष्ट्र बैङ्कले ‘नेसनल पेमेन्ट स्विच’ र ‘नेसनल पेमेन्ट इकोसिस्टम’ निर्माणको खाका सार्वजनिक गरेको छ ।
अब सबै बैङ्क, वालेट र भुक्तानी सेवा प्रदायकहरू एउटै साझा स्विच प्रणालीबाट आपसमा जडान हुने भएका छन्, जसले कार्ड र गैर–कार्ड दुबै कारोबारलाई सहज, छरितो र सुरक्षित बनाउने भएको छ ।
राष्ट्र बैङ्कले सार्वजनिक गरेको मास्टर रेफरेन्स डकुमेन्टले नेपालको भुक्तानी प्रणालीलाई पूर्ण रूपमा एकीकृत, पारदर्शी र सीमापार कारोबारमैत्री बनाउने योजना प्रस्तुत गरेको छ ।
राष्ट्र बैङ्कले आइतबार मस्यौदा सार्वजनिक गर्दै उक्त दस्तावेजका सम्बन्धमा सरोकारवाला निकायहरूसँग राय सुझाव पनि मागेको छ । डिजिटल कारोबारको विकासले वित्तीय कारोबारको स्वरूप नै परिवर्तन भइरहेका बेला देशको भुक्तानी प्रणालीमा देखिएको विखण्डन, दोहोरो प्रणाली र सीमित पहुँचका समस्या समाधान गर्न यस्तो साझा रणनीतिक दस्तावेज तयार गरिएको हो ।
आगामी मङ्सिर २० गतेसम्म सबै सरोकारवाला निकायहरू - जस्तै बैङ्क तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, भुक्तानी प्रणाली सञ्चालक, फिनटेक कम्पनीहरू, व्यवसायिक संघ संस्था, प्राविधिक विज्ञ तथा सर्वसाधारणलगायतबाट सुझावका लागि आह्वान गरेको छ ।
प्रस्तावित मस्यौदाले देशमा विद्यमान विभिन्न भुक्तानी पूर्वाधार, कार्ड नेटवर्क, मोबाइल वालेट, बैङ्कको मोबाइल एप, क्यूआर प्रणाली तथा अन्य डिजिटल प्लेटफर्महरूलाई एउटै साझा प्रणाली ‘नेसनल पेमेन्ट स्विच’ अन्तरगत एकीकृत गर्ने प्रस्ताव राखेको छ ।
मस्यौदामार्फत कार्ड र गैर–कार्ड कारोबारहरूलाई सहज रूपमा एकअर्कासँग अन्तरसञ्चालन योग्य बनाइने राष्ट्र बैङ्कले जनाएको छ । यस्तो स्विच प्रणाली लागू भएपछि ग्राहकले जुनसुकै बैङ्क, वालेट प्रयोग गरेर पनि सजिलै एउटै प्लेटफर्मबाट कारोबार गर्न सक्ने भएका छन् । जसले गर्दा बैङ्क तथा डिजिटल सेवा प्रदायकहरूबीच प्रतिस्पर्धा बढ्नेछ भने उपभोक्ताले गुणस्तरीय सेवा पाउने सुनिश्चितता हुने राष्ट्र बैङ्कले जनाएको छ ।

98 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ