नेपालका पर्यटनसम्बन्धी संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुसँगको छलफलका क्रममा जेनजी आन्दोलनका कारण नेपालको पर्यटन संरचनामा पनि ठूलो क्षतिबाट सिर्जित चुनौतीका बाबजुद नेपालको पर्यटन क्षेत्र पुनरुत्थान र प्रगतिको मार्गमा अघि बढिरहेको निष्कर्ष निकालिएको छ ।
काठमाडौं । नेपालको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न सरकार, बोर्ड र व्यवसायीको सामूहिक एक्यबद्धता जनाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सक्रियता र नेपाल पर्यटन बोर्डको समन्वयमा नेपालको अर्थतन्त्रको मुल आधार पर्यटन
क्षेत्रलाई पुनरुत्थान गर्ने विषयमा भएको छलफलमा यस्तो एक्यबद्धता जनाएका हुन् ।
पर्यटन बोर्डमा सोमबार नेपालका पर्यटनसम्बन्धी संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुसँगको छलफलका क्रममा जेनजी आन्दोलनका कारण नेपालको पर्यटन संरचनामा पनि ठूलो क्षतिबाट सिर्जित चुनौतीका बाबजुद नेपालको पर्यटन क्षेत्र पुनरुत्थान र प्रगतिको मार्गमा अघि बढिरहेको निष्कर्ष निकालिएको छ ।
पर्यटन मन्त्रालयका सचिव तथा नेपाल पर्यटन बोर्डका अध्यक्ष हरिप्रसाद मैनालीले पर्यटन क्षेत्रलाई पुनर्रुत्थान गर्नका लागि नीतिगत अड्चनहरु
फुकाउन मन्त्रालय प्रतिबद्ध रहेको उल्लेख गर्दै निजी क्षेत्रको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्नुभएको छ । उहाँले भन्नुभयो, “पर्यटन क्षेत्रको
पुनरुत्थानका लागि आवश्यक सुधारका काममा तत्काल पहल थालिएको छ । नेपालको छवि सुधार र सूचना प्रविधिको अधिकतम् प्रयोगमार्फत् नेपाल सुरक्षति गन्तव्य भएको विषय पर्यटक लक्षित मुलुकमा प्रवाह गर्न आवश्यक पहल गर्न हामी काम गरिरहेका छौं ।”
सचिव मैनालीले नेपाल आउने पर्यटकलाई पहिलो प्राथमिकतामा राख्दै उहाँहरुको सुरक्षित आवागमनको सहजीकरण गर्न सम्बन्धित निकायलाई निर्देशन पनि दिनुभयो । उहाँले थप्नुभयो, “यस घटनाले हामीलाई धेरै सिकाएको छ । प्रधानमन्त्री नियुक्ति र क्याबिनेट विस्तार हुने क्रम सुरु भएसँगै नेपालमा आन्दोलन सेफल्याण्डिङ भयो भन्ने सन्देश विश्वभर पुगेको छ । हामी आशावादी भएर काम गरिरहेका छौं ।”
नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले यस सिजनलाई सक्रिय बनाउनका लागि ‘पर्यटन प्याकेज’ हरु सार्वजनिक गर्नुपर्ने बताउनुभयो । उहाँले दूतावास, एनआरएनए र अन्य सञ्जालमार्फत नेपाल सुरक्षित छ भन्ने सन्देश दिन आवश्यक रहेको बताउनुभएको हो ।
नेपाल पर्यटन बोर्ड पोखरा कार्यालय प्रमुख मणीराम लामिछानेले पोखरामा रहेका पर्यटन व्यवसायीसँग त्यहाँ भएको क्षतिको विवरण संकलनका लागि समन्वय भइरहेको उल्लेख गर्दै पोखरामा रहेका र त्यहाँ आवागमन गर्ने पर्यटकहरुलाई आवश्यक सहजीकरण गर्न तयार रहेको उल्लेख गर्नुभयो । उहाँले थप्नुभयो, “हाम्रा ट्रेकिङ रुटहरु सुरक्षित छन् र साहसिक पर्यटकीय गन्तव्यमा पनि सहज आवागमन सुरु भइसकेको छ । त्यसकारण पोखरा आवागमन गर्ने पर्यटकहरुलाई सहजीकरणका लागि हामी तयार छौं ।”
नेपाल होटल व्यवसायी संघका अध्यक्ष विनायक शाहले होटल व्यवसायमा क्षति भए पनि पाहुनाका लागि स्वागत र आतिथ्य सेवामा कुनै कमी नहुने बताउनुभयो । “साहसिक पर्यटनका क्षेत्रमा खासै असर परेको छैन । साहसिक पर्यटनका क्षेत्रहरु सुरक्षित भएकाले पर्यटकहरुको संख्या बढ्दै गएको छ,” उहाँले थप्नुभयो ।
नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाटा) का अध्यक्ष कुमारमणी थपलियाले नेपाल सुरक्षित रहेको सन्देशलाई प्रवाह गर्नुपर्ने बताउनुभयो ।
“प्राकृतिक विपद् र अहिलेको संकट फरक भएकोले हामीले दीर्घकालीन समाधानमा काम गरिरहेको छौं र थप रणनीतिहरु बनाउनुपर्नेछ,” उहाँले भन्नुभयो ।
पर्यटन बोर्डका सदस्य ऋषिराम भण्डारीले रिकभरीका लागि निरन्तर प्रयत्न आवश्यक रहेको बताएका छन् । “हरेक संकटपछि नेपालको पर्यटन पुनरुत्थानमा पाँच–पाँच वर्ष लाग्ने गरेको छ । यस पटक हामीले छोटो अवधिमै रिकभरी गर्ने गरी काम गर्नुपर्छ,” भण्डारीले भन्नुभयो ।
त्यस्तै, बोर्ड सदस्य तथा पाटाका महासचिव नरेन्द्रदेव भट्टले नेपाललाई सुरक्षित गन्तव्यका रूपमा प्रचार गर्न विदेशस्थित नेपाली दूतावास र नेपालस्थित विदेशी नियोगहरुसँग समन्वय गर्दै विदेशी पर्यटकको सुरक्षा प्राथमिकतामा ध्यान दिनुपर्ने उल्लेख गर्नुभएको छ । टान अध्यक्ष सागर
पाण्डे र कैलाश टुर अपरेटर एशोसिएसनका अध्यक्ष विमल नहर्कीले कैलाश यात्रामा सहजीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल पर्यटन बोर्डले स्थिति सामान्य भएसँगै आइतबार नेपालका पर्यटनसँग सम्बन्धित निकायका प्रतिनिधिहरुसँग छलफल गरेको थियो । उक्त छलफलका क्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले विगतका विपद तथा विभिन्न संकटका समयमा पनि नेपालको पर्यटन क्षेत्र पुनरुत्थान भएको उदाहरण दिँदै आत्मविश्वासका साथ पर्यटन क्षेत्र सक्रिय बनाउन लाग्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “नेपालमा भएका पर्यटकीय क्षेत्रहरुबारे थप प्रचार–प्रसार गर्न र पर्यटकहरुको सुरक्षाका विषयमा ध्यान दिन आवश्यक छ । यसका लागि हामीले राज्यका विभिन्न निकायसँग समन्वयन गरेर काम गरिरहेका छौं ।”
त्यसैगरी बोर्डले सोमबार नै नेपालमा रहेका पाँच तारे र चार तारे होटलका प्रमुख, महाप्रबन्धक तथा प्रतिनिधिसँग पनि छलफल गरेको छ । उक्त छलफलका क्रममा राज्यले सहजीकरण गरिदिएको अवस्थामा होटल व्यवसायीहरु पाहुनालाई स्वागत गर्न तयार रहेको होटल व्यवसायीहरुले बताएका हुन् । उक्त छलफलमा अधिकांश होटल व्यवसायीहरुले भने, “हामीहरु पर्यटकहरुको स्वागतका लागि तयार छौं । उहाँहरुको सहज आवागमन र बसाईंका लागि राज्य निकायले सहजीकरण गर्ने विषयमा पनि छलफल भएको छ । यसका लागि हामी सामूहिक पहलमा नेपालको पर्यटन क्षेत्र पुनर्रुत्थान गर्ने दिशातर्फ काम गरिरहेका छौं ।”
यी विभिन्न छलफलका क्रममा सरकार, पर्यटन बोर्ड र निजी क्षेत्रले एउटै आवाजमा नेपालको पर्यटन पुर्नस्र्थापनाका लागि एक्यबद्धता जनाउँदै पछिल्लो समय सिर्जना भएको चुनौतीलाई अवसरमा बदल्ने र नेपाललाई अझ सुरक्षित, आकर्षक र सहज गन्तव्यका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।