पात्रो

रेडियो

समाचार खोजी

गण्डकी तथा लुम्बिनी प्रदेशमा सूचना महामार्ग निर्माण गर्ने जिम्मा नेपाल टेलिकमलाई

साझा अर्थ संवाददाता १ भदौ २०८२, आइतवार
समाचार सारांश

नेपाल दूरसञ्चार प्राधिकरणले २०७४ वैशाख २५ मा तीन वर्षभित्र सम्पन्न गर्ने गरी दुई अर्ब एक करोड रुपियाँमा यूटीएललाई दुई वटा प्रदेशमा अप्टिकल फाइबर विछाउने जिम्मा दिएको थियो । तर, यूटीएलले कामै गर्न नसकेको र उसको लाइसेन्ससमेत खारेजीमा परेका कारण नेपाल दूरसञ्चार प्राधिकरणले यसअघि उक्त कम्पनीले पाएको यो परियोजना अब नेपाल टेलकमले बनाउने जिम्मेवारी पाएको हो ।

This summary was generated by AI and has been editorially reviewed.

काठमाडौं । युनाइटेड टेलिकम कम्पनी (यूटीएल) ले आठ वर्ष अल्झाइदिएको गण्डकी र लुम्बिनी प्रदेशमा अप्टिकल फाइबर नेटवर्क निर्माण गर्ने काम नेपाल टेलिकमले पाएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले गण्डकी तथा लुम्बिनी प्रदेशमा अप्टिकल फाइवर नेटवर्क मार्फत सूचना महामार्ग निर्माण गर्ने जिम्मा नेपाल टेलिकमलाई दिएको हो । दूरसञ्चार क्षेत्रको नियामक निकाय प्राधिकरणले यसको लागि टेलिकमसँग सहमतिपत्रमा हस्ताक्षर गरेको छ ।
प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारी र नेपाल टेलिकमका निमित्त प्रबन्ध निर्देशक सविना मास्के मानन्धरले सहमतिपत्रमा हस्ताक्षर गर्नुभयो ।
नेपाल दूरसञ्चार प्राधिकरणले २०७४ वैशाख २५ मा तीन वर्षभित्र सम्पन्न गर्ने गरी दुई अर्ब एक करोड रुपियाँमा यूटीएललाई दुई वटा प्रदेशमा अप्टिकल फाइबर विछाउने जिम्मा दिएको थियो । तर, यूटीएलले कामै गर्न नसकेको र उसको लाइसेन्ससमेत खारेजीमा परेका कारण नेपाल दूरसञ्चार प्राधिकरणले यसअघि उक्त कम्पनीले पाएको यो परियोजना अब नेपाल टेलकमले बनाउने जिम्मेवारी पाएको हो ।
ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी गण्डकी तथा लुम्बिनी प्रदेशमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले ब्याकबोन नेटवर्क निर्माण गर्नेछ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जिम्मेबार तरिकाले सो परियोजनाको काम गर्न र समयमै सम्पन्न गर्न निर्देशन दिनुभयो ।
प्राधिकरणका अध्यक्ष भण्डारीले यसअघि अन्य कम्पनीहरुलाई उक्त प्रदेशमा ब्याकबोन नेटवर्क निर्माणको जिम्मा दिइएकोमा लामो समयसम्म परियोजना शुरु नै गर्न नसकेपछि अहिले टेलिकमलाई दिइएको बताउनुभयो ।
सरकारले दिएको निर्देशन अनुसार दुई अर्ब एक करोड रुपियाँ लागत अनुमान रहेको परियोजना टेलिकमलाई दिइएको हो । कम्पनीले यहि आर्थिक वर्षभित्र काम शुरु गर्ने उहाँले बताउनुभयो ।
प्राधिकरणका अध्यक्ष भण्डारीका अनुसार परियोजनाले उक्त प्रदेशका १९४ स्थानीय तहसम्म नै ब्याकबोन नेटवर्क पुग्नेछ । यसको लागि ४८ कोरको एडीएसएस २६ ओटा डीडब्लुडीएम र ४० जीबीपीएसका राउटरहरु राखिनेछन् ।
परियोजना तीन वर्षमा पुरा गर्ने लक्ष्य राखिएको प्राधिकरण अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।
यसैगरी कार्यक्रममा नेपाल टेलिकमका निमित्त प्रबन्ध निर्देश सविना मास्के प्रधानले परियोजनाले थप जिम्मेबारी बढेको बताउनुभयो । दुबै प्रदेशका २३ जिल्लामा यसले कभरेजका साथै गुणस्तरीय दूरसञ्चार सेवा पु-याउन सहयोग पुग्ने उहाँले बताउनुभयो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले तोकिएको समयमा र तोकिएको गुणस्तरअनुसार काम गर्ने विश्वास व्यक्त गर्नुभयो । यस्तै उहाँले परियोजनाहरू समयमै सम्पन्न गर्न गराउन अनुगमन संयन्त्रलाई चुस्त बनाई प्रस्तावित आयोजना तोकिएको गुणस्तर बमोजिम तोकिएको समय भित्र सम्पन्न गर्न निर्देशन दिनुभयो ।
परियोजनाले गण्डकी प्रदेश र लुम्बिनी प्रदेश अन्तरगत मध्यपहाडी लोकमार्ग, पूर्व–पश्चिम राजमार्ग तथा उत्तर–दक्षिण राजमार्गमा अप्टिकल फाइवर नेटवर्क मार्फत सूचना महामार्ग निर्माण तथा सञ्चालन गर्नेछ ।
समझदारी पत्रमा हस्ताक्षर भएको मितिबाट लागू हुने गरी ९० दिनभित्र नेपाल टेलिकमले विस्तृत आयोजना प्रतिवेदन दूरसञ्चार प्राधिकरण समक्ष पेश गर्नुपर्ने र १२० दिनभित्र यस आयोजना कार्यान्वयनका लागि नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमबीच सम्झौता गरिने गरी समझदारी पत्रमा उल्लेख गरिएको छ ।
आयोजनाबाट करिब १,९०० कि. मि. लम्बाईको नयाँ अप्टिकल फाइवर नेटवर्क निर्माण तथा सञ्चालन हुनेछ । सेवा प्रदायकहरुबीच उक्त पूर्वाधारको सहप्रयोग समेत हुने गरी सूचना महामार्ग सञ्चालन हुनेछ ।
गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका १९४ स्थानीय पालिकामा उच्च क्षमताको सूचना महामार्ग निर्माण भई डिजिटल खाडल कम हुने तथा सर्वसुलभ र भरपर्दो रुपमा दूरसञ्चार एवं सूचना प्रविधि सेवा उपलब्ध हुने विश्वास लिइएको प्राधिकरणले जनाएको छ ।

178 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ