दोलखाः दोलखा जिल्लाको सुनखानी ( हाल कालिञ्चोक गाउँपालिका वडा नम्बर आठ) मूल थातथलो रहेका शिवाकोटीहरु अहिले शिवाकोटी समाज मार्फत आफ्नो बंशका पूर्वजहरुले आरम्भ गरेका विरासतहरु जोगाउन लागि परेका छन् । सम्भवतः औरङ्गजेव जस्ता क्रुर शासकले हिन्दुस्तानमा हिन्दु माथी चरम अत्याचार गरेपछि धर्म जोगाउन गणेश पाध्य लगायतका आद्यपुस्ताका शिवाकोटीहरु नेपाल आउनु भएको थियो । तत्कालिन दोलखाली राजाबाट सुनखानी छपर्कुमा बसोबास गर्न अनुमति पाएका गणेश पाध्ये लगायतका शिवाकोटीका सन्ततीहरु अहिले पूर्खाहरुले निर्माण गरेका संरचनाको जिर्णोद्वार पूनर्निमाण अनि परम्पराको संरक्षणमा लागेको शिवाकोटी समाजका उपाध्यक्ष रामकाजी शिवाकोटी बताउनु हुन्छ ।
सुरुमा सुनखानी थात थलो रहेका शिवाकोटीहरु हाल देश भित्रका विभिन्न भुगोलहरु सार्थै अन्य विभिन्न देशहरुमा समेत फैलिएका छन् । जो जहाँ रहेपपनि आफ्ना परम्परालाईभने भूलेका छनन् । जहाँ शिवाकोटी त्यहाँ कुल देवता कालिनागको मन्दिर अनि पूजाआजा, देवाली, साउने (नागपञ्चमीको दिन) लगायतका पर्व सामूहिक रुपमा मनाउने गरेको पाइन्छ ।
कालिञ्चोक भगवतीसँग जोडिएको शिवाकोटीहरुको इतिहास :
सुनखानीमा बसोबास गरेपछि शिवाकोटीहरुले आद्य शक्ति पिठ मानिने कालिञ्चोक भगवतीको सेवामा आफ.ूलाई समर्पीत गरेको बुढापाकाको भनाई रहेको छ । भगवतीलाई शिवा भनिन्छ । शिवाको कोटी–कोटी सेवा गरेकोले पछी शिवाकोटी थर रहन गएको जनस्रुति पनि छ । मूलतः गौपालनलाई आफ्नो जीवन आधार बनाएका शिवाकोटीहरु कालिञ्चोक आसपासका खर्कहरुमा गोठ राख्ने गर्दथे । आफ्नो पशुधनको सुरक्षाकालागि कालिञ्चोकी माईको सेवालाई प्रमुख कार्यको रुपमा शिवाकोटीहरुले मान्ने गरेका थिए । गणेश पाध्ये का छोरा गजाधरलाई सपनामा कालिञ्चोकी भगवतीले आफूल लड्ने गरेको खड्ग अमुक ठाउँमा छ भनी भन्नु भएपछि विहानै त्यो ठाउँमा पुग्दा फेला परेको जनस्रुति रहेको खड्ग हाल पनि शिवाकोटीहरुले चौधरामा राखि पूजा गर्ने गरेका छन् ।
कालिञ्चोकमा जनै पूर्णिमाको अवसरमा लाग्ने मेलामा आउने भक्तजनहरुको सुविधालाई ध्यानमा राखि गजाधरको पालादेखिनै दही च्युराको भोज खुवाउने चलन चलेको थियो भन्ने भनाई रहेको छ । गजाधर बाट सुरु भएको यात्रुलाई भोज खुवाउने चलन २०३९ सालसम्म चलेको सुस्पा क्षमावतीका केशबप्रसाद शिवाकोटीको भनाई रहेको छ । शिवाकोटीहरुले गोठ पाल्न छाडेसँगै विस्तारै यो परमपरा लोप भएर गयो ।
शिवाकोटी समाजको नेतृत्वमा शनिवार शिवाकोटी अगुवाहरु भेला भएर कालिञ्चोकमा पूनः गजाधरको पालाबाट सुरु भएको जनैपूर्णिमा मेलामा दहीच्यूरा खुवाउने परमपरालाई ब्युँताउन परमपरागत भोज खुवाईएको शिवाकोटी समाजका उपाध्यक्ष शिवाकोटीको भनाई रहेको छ ।
सोही अवसरमा श्रृङ्गेश्वर खैजडी भजन समूहको नेतृत्वमा परम्परागत खैजडीभजन प्रदर्शन समेत गरिएको थियो ।

कालिञ्चोक जस्तै भीमेश्वर मन्दिरसँग पनि शिवाकोटीहरुको अटुट साइनो रहेको छ । विवाह पञ्चमीको दिन भीमेश्वरमा दुग्धधाराले रुद्री गर्ने परमपरा हाल सम्म पनि विद्यमान रहेको छ । गाई पालन गर्नेहरुले विवाह पञ्चमीको दिन विहानको दूध दुहेर घर भित्र हुल्न हुँदैन बाहिरै राखि भीमेश्वरमा रुद्री गर्न लैजाने चलन अझै पनि छँदै छ ।
पुर्खाका धरोहरको संरक्षण गर्दै शिवाकोटी समाजः
शिवाकोटी समाजको गठन पछी शिवाकोटीहरुको उल्लेख्य उपस्थिति रहेका जिल्लाहरुमा शिवाकोटी समाजका जिल्ला शाखाहरु गठन भएका छन् । शिवाकोटीहरुको मूल घर मल्ल कालिन शैलीमा निर्माण गरिएको चौघरा दरवारको जीर्णोद्वार तथा ब्यवस्थापनको काम भइरहेको उपाध्यक्ष शिवाकोटीले जानकारी दिनुभयो । आकर्षक बगैंचा सहित भविष्यमा ब्यवस्थित संग्रहालयको रुपमा चौघराको विकास गर्ने लक्ष्यरहेको उहाँको भनाई रहेको छ । साथै कालिनाग मन्दिर,गणेश पाटी,शिव कुटी,चौघरा दरबार,श्रृङ्गेश्वर गुफा तथा कालिञ्चोकलाई धार्मिक सर्किटको रुपमा विकास गर्ने समेत समाजको लक्ष्य रहेको छ ।
यसैगरी आद्य पुस्ता गणेश पाध्येले निर्माण गर्नु भएको गणेश पाटी, शिवकुटी लगायतका शिवाकोटीका गौरवहरुलाई पूनःर्स्थापना गर्न पनि समाज लागि परेको छ । सम्पदा संरक्षणको लागि मुठी दान अभियान सञ्चालन गरिएको छ । पूर्खाहरुको धरोहरहरुको संरक्षण गर्न सबै सन्ततीहरुले आफूले सकेको योगदान दिन जरुरी रहेको शिवाकोटी अगुवाहरुको भनाई रहेको छ ।
