पात्रो

रेडियो

समाचार खोजी

भटौली खोलाको पक्की पुलमा क्षति, सवारी आवगमन बन्द

साझा अर्थ संवाददाता १८ साउन २०८२, आइतवार

रामेछाप: सदरमुकाम मन्थलीलाई खाँडादेवी, दोरम्बा शैलुङ र सुनापति गाउँपालिकासँग जोड्ने तथा काठमाडौँ जाने वैकल्पिक मार्गका रूपमा रहेको भटौली खोलाको पक्की पुलमा बाढीले क्षति पुर्याएको छ । कटानका कारण ठूला सवारीसाधनको आवागमन रोकिएपछि नेपाली सेना र सशस्त्र प्रहरी बाटो खुलाउन लागिपरेका छन् ।    
    
शुक्रबार राति परेको अविरल वर्षाका कारण आएको बाढीले पुलको पकरबासतर्फको किनार कटान गरेपछि ठूला सवारीसाधनको आवागमन पूर्ण रूपमा रोकिएको छ । मन्थली नगरपालिका–७ र खाँडादेवी गाउँपालिका–४ पकरबास जोड्ने उक्त पक्की पुलको पकरबासपट्टि खोलाले भत्काएपछि सडकको एक भाग खोक्रो बनेको छ । दुई पाङ्ग्रे सवारीसाधनबाहेक अन्य सवारीसाधन चलाउन बन्द गरिएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले राससलाई बताउनुभयो । उहाँलँ भन्नुभयो, “बाटो खुलाउने प्रयास जारी छ ।”    
    
पुल जोखिममा रहेको थाहा पाएपछि प्रदेशसभा सदस्य आनन्द श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी थापा, जिल्लास्थित सुरक्षा निकायका प्रमुखसहितको टोलीले स्थलगत अवलोकन गरी सम्बन्धित निकायलाई मर्मत गर्न निर्देशन दिएको थियो । शुक्रबार रातिको वर्षाले बनाइएका संरचनासमेत बगाएको स्थानीय केदारप्रसाद ढुङ्गेलले बताउनुभयो । खाँडादेवी गाउँपालिका–४ का वडाध्यक्ष कृष्ण पौडेलले खोलामा आएको कटान सुरु गरेपछि सम्बन्धित निकायलाई जानकारी गराए पनि बेवास्ता गरिएका कारण यो अवस्था आएको बताउनुभयो ।    
    
रामेछापको तीन गाउँपालिकालाई सदरमुकाम मन्थलीसँग जोड्ने यो पुल रामेछाप–काठमाडौँ वैकल्पिक मार्गका रूपमा समेत प्रयोग हुँदै आएको छ ।

223 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ