काठमाडाै: अहिले वाणिज्य बैंकहरूको आधारदर (बेसरेट) ३ वर्ष यताकै सस्तो छ। बैंकहरूले २०८० कात्तिक यता लगातार महिनैपिच्छे निक्षेपको ब्याजदर घटाउँदा लागत घट्न गई बेसरेट एकदमै तल्लो विन्दुमा आएको हो। बेसरेट घटेपछि कर्जाको ब्याजदर पनि घट्न पुगेको छ।
वाणिज्य बैंकहरूले साउनका लागि सार्वजनिक गरेको बेसरेट अनुसार औसत बेसरेट ६.१० प्रतिशतमा झरेको छ। यो २०७८ माघ यताकै सस्तो हो। पछिल्लो १ वर्षमा मात्रै बैंकहरूको बेसरेट १.५२ प्रतिशत बिन्दुले घटेको छ। गत वर्ष साउनमा वाणिज्य बैंकहरुको औसतमा ७.६२ प्रतिशत रहेको बैंकहरूको बेसरेट चालु आवको सोही अवधिमा घटेर ६.१० प्रतिशतमा आएको हो।
बैंकिङ प्रणालीमा तरलता अभाव हुँदै गएपछि बैंकहरूले निक्षेपको ब्याज बढाउँदा २०७८ असारदेखि बेसरेट महगिँदै गएको थियो। सो बेला औसतमा ६.८९ प्रतिशत रहेको बेसरेट २०७९ पुसमा बढेर १०.७८ प्रतिशतसम्म पुगेको थियो। त्यसपछि घट्न थालेको बेसरेट अहिले ६.१ प्रतिशतमा झरेको हो।
नेपाल राष्ट्र बैंकमा नयाँ गभर्नरको रुपमा डा. विश्वनाथ पौडेल आएपछि जारी गरेको पहिलो मौद्रिक नीतिमा ब्याजदर करिडोरको माथिल्लो सीमा र तल्लो सीमा दुवै घटाए जसले गर्दा वाणिज्य बैंकहरुले पनि निक्षेपमा दिने ब्याज दर सोही अनुसार ०.२५ प्रतिशतले घटाए। निक्षेपको ब्याज दर घट्दा बैंकहरुको बेसरेट झन घट्न पुगि बेस रेट तल आएको हो।
बैंकमा पैसा थुप्रिएपछि बैंकहरूले लागत घटाउन निक्षेपको ब्याज घटाउँदै आएका छन्। विगतमा तरलता अभावका कारण बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर नै १२ प्रतिशतसम्म पुर्याएका थिए जसकारण बैंकहरूको औसत बेसरेट नै दोहोरो अंकमा पुगेको थियो।
हाल संचालनमा रहेका २० वाणिज्य बैंकमध्ये १ बैंकको बेसरेट मात्रै बेसरेट ७ प्रतिशत माथि छ। १२ वाणिज्य बैंकको बेसरेट ६ देखि ७ प्रतिशतको बीचमा छ। जसमा ६ बैंकको बेसरेट औसतभन्दा पनि कम रहेको छ। ५ वटा वाणिज्य बैंकको बेस रेट ५ दखि ६ प्रतिशतको बीचमा छ भने २ वटा वाणिज्य बैंकको बेस रेट त झन ५ प्रतिशत भन्दा मुनि झरिसकेको छ।