स्वास्थ्य सेवा विभागले रेबिजविरुद्धको ५१,१८० भायल खोप र सर्पदंश उपचारका औषधिहरू सातै प्रदेशमा आपूर्ति गरेको छ। अभावको समाचारपछि मन्त्री प्रदीप पौडेलको निर्देशनमा तीव्र आपूर्ति गरिएको हो। बाग्मती र मधेशमा सबैभन्दा धेरै खोप र भेनम पठाइएको छ। विभागले आगामी दुई महिनाभित्र हालको चार गुणा औषधि आपूर्ति गर्ने योजना बनाएको छ।
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तरगतको स्वास्थ्य सेवा विभागले देशका सातै प्रदेशमा रेबिजविरुद्धको भ्याक्सिन तथा सर्पदंश उपचारमा प्रयोग हुने औषधी आपूर्ति गरेको छ ।
विभाग अन्तरगतको व्यवस्थापन महाशाखा प्रमुख डा. पवनजंग रायमाझीले यस अघि नै खरिद भएर आर्पूतिका क्रममा रहेको औषधी प्रदेश सरकारहरुका स्वास्थ्य संस्थामा वितरण गर्ने गरी आपूर्ति केन्द्रहरुमा पुगिसकेको बताउनुभयो ।
रेबिज तथा सर्पदंश उपचारमा प्रयोग हुने खोप तथा औषधी अभाव भएको समाचार आएलगत्तै चासो लिंदै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मातहतका अधिकारीहरुलाई अभाव नहुने गरी तत्काल आपूर्ति व्यवस्थापन गर्न भन्नुभएको थियो । उहाँले आपूर्ति गति बढाएर तथा भावी दिनमा अभाव हुन नदिने गरी आवश्यक सबै उपाय अपनाउन अधिकारीहरुलाई बोलाएर भन्नुभएको थियो । सोही अनुसार स्वास्थ्य सेवा विभागले सबै प्रदेशहरुमा दुबै प्रकारका औषधी आपूर्ति गरेको हो ।
विभागको तथ्याङ्कअनुसार रेबिजविरुद्ध उपयोग हुने ५१ हजार १८० भायल भ्याक्सिन प्रदेश आपूर्ति केन्द्रहरुमा पुगिसकेको छ ।
सबैभन्दा बढी बाग्मती प्रदेशमा आपूर्ति गरिएको छ । बाग्मतीमा १० हजार ८० भायल रेबिजविरुद्धको खोप आपूर्ति भएको छ भने सर्पदंशविरुद्धको एक हजार भायल भेनम आपूर्ति भएको छ । यसैगरी, सर्पदंशका बढी समस्या आउने मधेशमा सर्पदंशविरुद्धको भेनम सबैभन्दा बढी दुई हजार पाँच सय तथा रेबिजविरुद्धको खोप करिब पाँच हजार भायल आर्पूति गरिएको छ ।
मागका आधारमा अन्य प्रदेशहरुमा पनि भ्याक्सिन तथा भेनम आपूर्ति गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताउनुभयो ।
विभागले हाल आपूर्ति भएका अतिरिक्त दुई महिनाभित्र हालको आपूर्तिको चार गुणा बढी आपूर्ति हुने गरी व्यवस्था मिलाएको विवरण दिएको छ ।