पात्रो

रेडियो

समाचार खोजी

पारावत् महाविहार संरक्षण समाजलाई प्राचीन सम्पदा हस्तान्तरण

साझा अर्थ संवाददाता १० साउन २०८२, शनिवार
समाचार सारांश
  • राष्ट्रिय सङ्ग्रहालयले अमेरिकाबाट फिर्ता ल्याइएका तीनवटा प्राचीन सम्पदा (कलाकृति) आज पुनःस्थापनका लागि इतुम्बहालस्थित भाष्करदेव संस्कारित केशचन्द्रकृत पारावत् महाविहार संरक्षण समाजलाई हस्तान्तरण 
This summary was generated by AI and has been editorially reviewed.

काठमाडौँ:  राष्ट्रिय सङ्ग्रहालयले अमेरिकाबाट फिर्ता ल्याइएका तीनवटा प्राचीन सम्पदा (कलाकृति) आज पुनःस्थापनका लागि इतुम्बहालस्थित भाष्करदेव संस्कारित केशचन्द्रकृत पारावत् महाविहार संरक्षण समाजलाई हस्तान्तरण गरेको छ ।     
     
उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, सङ्ग्रहालय प्रमुख अरुणा नकर्मीले महाविहार संरक्षण समाजलाई ती प्राचीन कलाकृति हस्तान्तरण गर्नुभएको हो । हस्तान्तरण अघि सङ्ग्रहालय प्रमुख नकर्मी र समाजका अध्यक्ष प्रज्ञारत्न शाक्य, उपाध्यक्ष रमेशमान शाक्य, सचिव रत्नसम्भव शाक्य र काठमाडौँ महानगरपालिका–२४ का सदस्य रत्नाकर बज्राचार्यले हस्तान्तरणसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो ।     
     
यसरी फिर्ता गरिएका कलाकृति (थाङ्का)मा ३०० वर्ष पुरानो चिन्तामणि लोकेश्वर, ५७५ वर्ष पुरानो गगनसिंह भारोया र उहाँकी पत्नीसहितको थाङ्का (पौभा) र ३२१ वर्ष पुरानो केशचन्द्रसहितको भैरव रहेका छन् । यो कलाकृति २०३७ साल भदौ २९ गते चोरी भएको थियो । चोरिएको कलाकृति अमेरिका पुर्याइएको पत्ता लागेपछि आवश्यक समन्वय गरी फिर्ता ल्याइएको हो ।     
     
उक्त कलाकृति ४५ वर्षपछि गत फागुन १९ गते नेपाल ल्याएर राष्ट्रिय सङ्ग्रहालयमा राखिएको थियो । आज सोही कलाकृति उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहको उपस्थितिमा महाविहार संरक्षण समाजलाई हस्तान्तरण गरिएको हो । विसं २०३७ अघिसम्म गुँलापर्वका बेला १५ दिनसम्म यस महाविहारमा उक्त कलाकृति प्रदर्शन गरिन्थ्यो ।     
     
अमेरिकाको नेवाः गुठीका अध्यक्ष विजयमान सिंह तथा पुरातत्व विभागसँगको समन्वयमा उक्त पौभा चित्र फिर्ता ल्याइएको जनाइएको छ । कलाप्रेमी स्टेफन एककार्डले सिकागोस्थित आर्ट इन्स्टिच्युट अफ सिकागोमा यी पौभाः प्रदर्शनीमा राखेको देखेपछि उहाँले नै यहाँ जानकारी दिनुभएको थियो । सोही आधारमा ती पौभाः चोरी भएर सिकागो पुगेको सन् २००३ मा पुष्टि भएकामा दुई दशक लामो प्रयासबाट नेपाल फिर्ता ल्याउन सफल भइएको सङ्ग्रहालयले जनाएको छ ।     
     
कलाकृति हस्तान्तरण गर्दै उपप्रधानमन्त्री सिंहले नेपालका प्राचीन कलाकृति फिर्ता ल्याउन प्रयास गर्ने सबैलाई धन्यवाद दिँदै अब तिनको संरक्षणमा ध्यान दिन आग्रह गर्नुभयो । बागमती प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्यले तीनै तहका सरकार सम्पदा संरक्षणमा लाग्नुपर्नेमा जोड दिँदै यस्ता सम्पदाले भावी पुस्तालाई इतिहास बुझाउन सहयोग पुग्ने धारणा राख्नुभयो ।     
     
काठमाडौँ महानगरपालिका उपप्रमुख सुनिता डङ्गोलले अभियन्ता विजय सिंहलगायतका सहयोगमा सम्पदा फर्काउन सफल भएकामा खुसी व्यक्त गर्दै तिनको संरक्षणमा महानगरबाट आवश्यक सहयोग रहने प्रतिबद्धता जनाउनुभयो ।     
     
संरक्षण समाजका अध्यक्ष शाक्यले महाविहारमा आफ्नै सङ्ग्रहालय स्थापना गरी प्राकृतिक कलाकृति सुरक्षित राख्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो । उहाँले पटक पटकको प्रयासमा कलाकृति फिर्ता ल्याउन सफल भएको र आज पुरानै ठाउँमा पुनःस्थापना गर्न पाउँदा गर्व महसुस भएको बताउनुभयो ।     
     
राष्ट्रिय सङ्ग्रहालय प्रमुख नकर्मीले फिर्ता आएका कलालाई पुनःस्थापना गर्न पाउनु सुखद भएको र अब प्राचीन सम्पदाको उचित संरक्षण हुने विश्वास व्यक्त गर्नुभयो ।  

179 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
100%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ