-गत आवमा २१० परिवारमा चुल्हो वितरण
-चालु आव २०८२/८३ को साउनभित्रै थप २६० जनालाई वितरण गर्ने योजना
-दाउराको प्रयोग हुने घरमा अब इन्डक्सन चुल्होमा खान पाक्न सुरु
जोमसोम (मुस्ताङ), १० साउनः लोमान्थाङ गाउँपालिकाले पालिकाभित्र बसोबास गर्ने परिवारलाई विद्युतीय ‘इन्डक्सन’ चुल्हो वितरण अभियान सुरु भएको छ । गाउँपालिकामा केन्द्रीय विद्युत् प्रसारणको पहुँच पुगेसँगै यहाँका विद्युतीय चुल्हो वितरण अभियान सुरु भएको हो ।
पहिलो चरणमा आर्थिक अवस्था कमजोर भएका, अपाङ्गता र ज्येष्ठ नागरिकलाई लक्षित गरी २१० जनालाइ चुल्हो उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष टसीन्हर्वु गुरुङले जानकारी दिनुभयो । स्थानीयले परम्परागत रूपमा प्रयोग गर्दै आइरहेका दाउरा र पछिल्ला वर्षमा प्रयोग हुँदै आएका ग्यास सिलिन्डर मुक्त बनाउने अभियानअन्तर्गत इन्डक्सन चुल्हो वितरण गरिएको उहाँले बताउनुभयो ।
गाउँपालिका अध्यक्ष गुरुङका अनुसार गत आवमा २१० परिवारमा चुल्हो वितरण गरिएकामा चालु आव २०८२/८३ को साउनभित्रै थप २६० जनालाई वितरण गर्ने योजना छ । उहाँले भन्नुभयो, “इन्डक्सन चुल्होसँगै प्रयोग गर्ने विधिबारे पनि जानकारी गराएका छौं, यहाँ दाउराको प्रयोग हुने घरमा अब इन्डक्सन चुल्होमा खान पाक्न सुरु भएको छ । यो अभियान जारी रहने छ ।”
लोमान्थाङ गाउँपालिकाभित्र ग्यास सिलिन्डरसँगै नियमित रुपमा दाउराको प्रयोग गरी खाना पकाउने गरिन्छ । स्थानीय पेम्बा गुरुङले गाउँपालिकाले निःशुल्क इन्डक्सन चुल्हो वितरण गरेपछि ग्यास खरिद गरी ल्याउनुपर्ने र दाउरा खोज्न जानुपर्ने झन्झटबाट मुक्त भएको बताउनुभयो ।
गाउँपालिका उपाध्यक्ष छयुमी बिष्ट गुरुङले राम्रोसँग उपयोग गर्नसके करिब ५ वर्षसम्म चुल्हो टिकाउ हुने र कुनै समस्या आए मर्मतका लागि पनि पहल गरिने बताउनुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विशाल अधिकारीले गाउँपालिकालाई धुवाँरहित पालिका बनाउन यस अभियमान सहयोग पुग्ने बताउनुभयो ।