काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषणा भएका १९ सहकारीको कर्जा असुलीका लागि असार मसान्तसम्मको समय दिएको छ । समितिले सूचना प्रकाशन गरी समस्याग्रस्त सहकारी संस्थाका सञ्चालक, ऋणी, व्यवस्थापक र कर्मचारीलाई ऋण तिर्न यही असार मसान्तसम्मको समय दिएको हो ।
तोकिएको म्यादभित्र आफ्नो दायित्व राफसाफ नगरे समस्याग्रस्त घोषणादेखि असुलीको दिनसम्मको साँवा, ब्याज, हर्जाना समेत ऋणमा गणना गरिने समितिले जनाएको छ । आउँदो साउन १ गतेदेखि त्यो असुली थालिने समिति जारी गरेको सूचनामा उल्लेख छ ।
समितिको सूचना अनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट सहकारी ऐन, २०७४ को दफा १० बमोजिम समस्याग्रस्त घोषित सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीका निम्ति लेखी आएकाले ऋण असुलीको प्रक्रिया अघि बढाइएको हो ।
समस्याग्रस्त सहकारी संस्थाका सञ्चालक, ऋणी सदस्य, व्यवस्थापक र कर्मचारीलाई पटक–पटक सार्वजनिक सूचना प्रकाशन गर्दा समेत आफ्नो दायित्व भुक्तानी नगरिएकोले अन्तिमपटक सूचना प्रकाशन गरिएको समितिले जनाएको छ ।
अहिले प्यासिफिक सेभिङ्ग एण्ड इन्भेष्टमेण्ट को–अपरेटिभ, प्रभु बचत तथा ऋण सहकारी संस्था, ओरेण्टल को–अपरेटिभ, गोरखा सेभिङ एण्ड क्रेडिट सहकारी संस्था, स्टाण्डर्ड सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ, पशुपति सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ, शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था, नेपाल सहकारी वित्तीय संस्था, लुःनिभा बहुउद्देश्यीय सहकारी संस्था, हाम्रो नयाँ कृषि सहकारी संस्था, कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था, सोसाइटल बहुउद्देश्यीय सहकारी संस्था, भेगास बचत तथा ऋण सहकारी संस्था, तुलसी बहुमुखी सहकारी संस्था, श्री लालिगुँरास बहुउद्देश्यीय सहकारी संस्था, कञ्जुमर बचत तथा ऋण सहकारी संस्था, कोहिनुर हिलसेभिङ एण्ड क्रेडिट को–अपरेटिभ, कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिट सहकारी संस्था, गौतम श्री बहुउद्देश्यीय सहकारी संस्थालाई सरकारले समस्याग्रस्त सहकारी घोषणा गरेर कारबाही अगाडि बढाएको छ ।
साझा अर्थ संवाददाता