पात्रो

रेडियो

समाचार खोजी

भोजपुरको दावा बजारमा खानेपानीको पहुँच

साझा अर्थ संवाददाता १४ असार २०८२, शनिवार

भोजपुर, १४ असारः यहाँको नगरपालिका–४ दावामा ‘दावा बजार खानेपानी’ आयोजना सञ्चालन भएपछि स्थानीयलाई सहजता भएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले यहाँ ५० घरमा ‘एक घर एक धारा’ निर्माण गरेपछि स्थानीयलाई सहजता भएको हो ।    
    
 दावा बजार क्षेत्रमा रहेको पानीको हाहाकारलाई ध्यानमा राख्दै आयोजना निर्माण सम्पन्न भएपछि यहाँको पानीको समस्या हल भएको निर्माण उपभोक्ता समितिका अध्यक्ष कमल प्रधानले जानकारी दिनुभयो । आयोजना सम्पन्न पश्चात यहाँका ५० घरमा धारा जडान गरेर पानी वितरण भइरहेको उहाँको भनाइ छ ।    
    
 “दावा खानेपानी आयोजना सञ्चालनमा आएको छ”अध्यक्ष प्रधानले भन्नुभयो, “यो आयोजनाबाट ५० घरमा पानी जडान गर्न सफल भएका छौँ । अहिले यो क्षेत्रमा पानीको समस्या छैन ।”    
    
 दावा बजार खानेपानी आयोजना सम्पन्न भएसँगै यहाँका स्थानीयको वषौँदेखीको पानीको समस्या अन्त्य भएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय भोजपुरका प्रमुख आशुतोष ठाकुरले बताउनुभयो । यहाँ कार्यालयको करिव रु ६० लाख लागतमा आयोजना निर्माण गरिएको प्रमुख ठाकुरको भनाइ छ । यो आयोजनाको मुख्य लाइन चार किलो मिटर र वितरण लाईन चार दशमलव ५ किलोमिटर रहेको कार्यालयले जनाएको छ ।    
    
 “दावा खानेपानी आयोजना सञ्चालनमा आइसकेको छ” प्रमुख ठाकुरले भन्नुभयो, “आयोजना सञ्चालन पश्चात यहाँका नागरिकको वषौँदेखिको पानीको समस्या हटेको छ । हामीले यो आयोजनाको थलगत अनुगमन पनि गरेका छौँ ।” पानीको समस्या समाधानको लागि जिल्लाका विभिन्न ठाउँमा खानेपानी आयोजना निर्माणको काम धमाधम भइरहेको प्रमुख ठाकुरको भनाइ छ ।    
    
 दावा बजार खानेपानी आयोजना सञ्चालनमा आएपछि घण्टौँ लगाएर पानीको जोह गर्नु पर्ने समस्यमाबाट मुक्त भएको स्थानीयबासी लक्ष्मी भण्डारीले बताउनुभयो । आधा रातदेखि लाइनमा बसेर टाढाको धारा, कुवाबाट पानी ल्याउनु पर्ने अवस्थाको अन्त्य भएको उहाँको भनाइ छ ।    
    
 “दावा क्षेत्रमा पानीको धेरै नै समस्या थियो” उहाँले भन्नुभयो, “पानीको जोह गर्न हामीलाई धेरै समय लाग्थ्यो । अहिले घर घरमा धारा जडान भएपछि हाम्रो पुस्तौदेखीको समस्या हटेको छ ।” घरमा धारा जडान भएपछि सरसफाईसँगै घरको दैनिक कामकाजमा सहजता भएको उहाँको भनाइ छ ।     
(रासस)     

110 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता