काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को दश महिनामा १९२ खर्ब ३८ अर्ब ५५ करोड रुपियाँ बराबरको तरलता प्रशोचन गरिएको छ ।
नेपाल राष्ट्र बैङकका अनुसार समीक्षा अवधिमा निक्षेप संकलन बोलकबोलमार्फत २४ खर्ब ६८ अर्ब ६५ करोड र स्थायी निक्षेप सुविधामार्फत १६७ खर्ब ६९ अर्ब ९० करोड गरी कुल १९२ खर्ब ३८ अर्ब ५५ करोड (कारोबारमा आधारित) तरलता प्रशोचन गरिएको हो । यस्तै दुई अर्ब ७० करोड ओभरनाइट तरलता सुविधा उपयोग भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा मौद्रिक व्यवस्थापनका विभिन्न उपकरणहरुमार्फत पटक–पटक गरी खुद १३ खर्ब २७ अर्ब ३४ करोड तरलता प्रशोचन गरिएको थियो ।
समीक्षा अवधिमा राष्ट्र बैङ्कले विदेशी विनिमय बजार (वाणिज्य बैङ्कहरु) बाट अमेरिकी डलर चार अर्ब २१ करोड खुद खरिद गरी पाँच खर्ब ६४ अर्ब ११ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर चार अर्ब ७४ करोड खुद खरिद गरी छ खर्ब ३० अर्ब ६९ करोड तरलता प्रवाह गरिएको थियो ।
समीक्षा अवधिमा अमेरिकी डलर तीन अर्ब १२ करोड बिक्री गरी चार खर्ब २४ अर्ब ८६ करोड बराबरको भारतीय रुपियाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर तीन अर्ब २२ करोड बिक्री गरी चार खर्ब २८ अर्ब ४१ करोड बराबरको भारतीय रुपियाँ खरिद भएको थियो ।

साझा अर्थ संवाददाता