काठमाडौँ — नेपालको बैंक तथा वित्तीय क्षेत्रमा जम्मा भएको कुल निक्षेप रकम हाल ७० खर्ब रुपैयाँभन्दा बढी पुगेको छ, जुन अहिलेसम्मकै उच्च अंक हो। नेपाल राष्ट्र बैंकका अनुसार, यसमध्ये वाणिज्य बैंकहरूमा मात्रै करिब ६२ खर्ब ६२ अर्ब रुपैयाँ निक्षेप रहेको छ, भने बाँकी झण्डै साढे ७ खर्ब रुपैयाँ विकास बैंक र फाइनान्स कम्पनीहरूमा जम्मा भएको छ।
राष्ट्र बैंकको यो तथ्यांक वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूसम्म सीमित छ। यद्यपि, लघुवित्त वित्तीय संस्था र सहकारी संघसंस्थाहरूले पनि ठूलो परिमाणमा बचत संकलन गरिरहेका हुन्छन्, जुन तथ्यांकमा समावेश गरिँदैन। त्यसैले समग्र अर्थतन्त्रको दृष्टिकोणले हेर्दा देशभरको वास्तविक निक्षेप अझ बढी रहेको जानकारहरूको भनाइ छ।
निक्षेपको यो वृद्धिसँगै बजारमा तरलता उच्च रहेको संकेत देखिएको छ। पछिल्लो एक वर्षदेखि बजारमा पैसा प्रशस्त मात्रामा रहे पनि त्यसको व्यवस्थापन गर्न राष्ट्र बैंकले नियमित रूपमा तरलता संकलन गरिरहेको छ। सोही रणनीतिअन्तर्गत राष्ट्र बैंकले बुधबार मात्रै करिब ९० अर्ब रुपैयाँ बजारबाट झिक्ने तयारी गरेको छ।
साझा अर्थ संवाददाता