असार महिनामा चारवटा जलविद्युत् कम्पनीको संस्थापक, कर्मचारी र स्थानीय प्रभावित समूहको शेयरमा लगाइएको लकइन अवधि समाप्त हुँदैछ। लकइन अवधि सकिएपछि ती शेयरहरू साधारणसरह बजारमा कारोबारमा आउने भएकाले बजारमा शेयरको आपूर्ति बढ्ने र त्यसले मूल्यमा दबाव सिर्जना गर्ने सम्भावना देखिएको छ।
विन्ध्यबासिनी हाइड्रोपावर लिमिटेडको संस्थापक, कर्मचारी र स्थानीय प्रभावितको गरी करिब ९६ लाख ७१ हजार कित्ता शेयरको लकइन अवधि असार २ गते सकिँदैछ। त्यसपछि दोर्दीखोला जलविद्युत् कम्पनी लिमिटेडको ८४ लाख १२ हजारभन्दा बढी कित्ता शेयर असार ७ गतेदेखि बजारमा आउनेछन्।
त्यसैगरी, हिमालयन हाइड्रोपावर लिमिटेडको ९० लाख २१ हजार कित्ता शेयर असार २७ गतेदेखि कारोबारमा खुल्नेछन् भने अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको १ करोड १५ लाख ८१ हजार कित्ता शेयर असार २९ गतेपछि खुला बजारमा ल्याइनेछ।
लकइन अवधि समाप्त हुने क्रमसँगै बजारमा ती कम्पनीका शेयरहरू थपिने हुँदा मूल्य घट्न सक्ने जोखिमलाई मध्यनजर गर्दै सम्बन्धित कम्पनीहरूले एक महिना अघिनै सार्वजनिक सूचना प्रकाशित गरिसकेका छन्। यस्तो अवस्थामा लगानीकर्ताहरूले सर्तक भएर निर्णय लिन विज्ञहरूको सुझाव छ।
साझा अर्थ संवाददाता