काठमाडौं — भारतको नागरिक उड्डयन सुरक्षा ब्युरोले टर्कीको कम्पनी सेलेबी एभिएसनको सुरक्षा स्वीकृति तत्काल लागू हुने गरी खारेज गरेको छ।
सेलेबी एभिएसन कम्पनीले भारतका धेरै विमानस्थलमा सुरक्षासम्बन्धी सेवा दिँदै आएको थियो। ब्युरोले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भनेको छ, “नागरिक उड्डयन सुरक्षा ब्युरोका महानिर्देशकलाई प्राप्त अधिकार प्रयोग गर्दै राष्ट्रिय सुरक्षाको हितमा सेलेबी एयरपोर्ट सर्भिसेज इन्डिया प्रा. लि. को सुरक्षासम्बन्धी स्वीकृति तत्काल खारेज गरिएको छ।”
भारतको उक्त निर्णय हालैको भारत-टर्की कूटनीतिक तिक्तताको पृष्ठभूमिमा आएको हो। गत वैशाख ९ गते (अप्रिल २२) कश्मीरको पहलगाममा आतंकवादी आक्रमण भएको थियो। त्यसको प्रत्युत्तरमा भारतले पाकिस्तानका केही स्थानमा आक्रमण गरेको थियो। सो घटनालाई लिएर टर्कीले भारतको आलोचना गर्दै पाकिस्तानको समर्थन गरेको थियो। टर्कीको यस्ता अभिव्यक्तिपछि भारत सरकारले चासो व्यक्त गर्दै सेलेबी कम्पनीविरुद्ध कारबाही गरेको बताइएको छ। यससँगै भारत र टर्कीबीचको सम्बन्धमा थप चिसोपन आएको देखिएको छ।
साझा अर्थ संवाददाता