काठमाडौँ । ग्लोबल आइएमई बैङ्क लिमिटेडको आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी “ग्लोबल आइएमई एआई÷एमएल ह्याकाथन” कार्यक्रम सम्पन्न भएको छ ।
बैङ्कले प्रविधिमा रुची राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, डेटा वैज्ञानिक तथा अनुसन्धानकर्ताहरुलाई लक्षित गर्दै सम्भावित नविनतम प्रविधिमा आधारित बैकिङ सेवाहरु विकासका लागि सो प्रतियोगिता सञ्चालन गरिएको बैङ्कले जनाएको छ ।
प्रतियोगितामा २१ टोलीहरुलाई अनलाइन पेपर प्रिजेन्टेशनका लागि छनौट गरीएको थियो । प्रतियोगि टोलीहरु विभिन्न स्थान काठमाडौं, महेन्द्रनगर, पोखरा, वीरगञ्ज, काभ्रे, धरानबाट सहभागीता रहेको थियो ।
प्रतियोगिताका बिजेता टोलीहरुलाई नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर बम बहादुर मिश्रले पुरस्कार रकम हस्तान्तरण गर्नुभयो ।
नेपालमा पहिलो पटक आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी ह्याकाथन सञ्चालन गरेकोमा डेपुटी गभर्नर मिश्रले आयोजकलाई धन्यवाद दिनुभयो । प्रतियोगिताले युवा तथा विद्यार्थीहरुलाई अवसर प्रदान गर्नुका साथै बैङ्कका सेवा तथा सुविधाहरुमा नविनतम् प्रविधिको प्रयोग अझ प्रभावकारी भई सेवाको पहुँच विस्तार हुने विश्वास लिएको उहाँले बताउनुभयो ।
बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले ह्याकाथनले डिजिटल बैङ्किङमा आउने सम्भावित सेवाहरु र यसको चुनौतिहरुको समाधानको लागि सहयोग पुग्नुका साथै नविनतम सेवाहरुको विकासमा सहयोग पुग्ने विश्वास लिएको बताउनुभयो ।
साझा अर्थ संवाददाता