पात्रो

रेडियो

समाचार खोजी

विद्युत प्राधिकरण भन्छ : लोडसेडिङ हुँदैन, सामाजिक सञ्जालको हल्लामा विश्वास नगरौँ

साझा अर्थ संवाददाता १५ वैशाख २०८२, सोमवार

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले हाल विद्युत आपूर्तिसम्बन्धी सामाजिक सञ्जालमा फैलिएको भ्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै देशभर विद्युत आपूर्तिमा कुनै लोडसेडिङ नरहेको स्पष्ट पारेको छ ।

प्राधिकरणका अनुसार हाल देशभर विद्युतको जडित क्षमता ३,५१२ मेगावाट पुगेको छ। यसमध्ये ने.वि.प्रा.कै स्वामित्वमा रहेका जलविद्युत आयोजना ६६२ मेगावाट, सौर्य २५ मेगावाट, तापीय ५३ मेगावाट (हाल बन्द), सहायक कम्पनीका आयोजना ६२३ मेगावाट तथा निजी क्षेत्रबाट उत्पादित २,१४९ मेगावाट रहेका छन् ।
हाल आन्तरिक उत्पादन औसतमा १,१७५ मेगावाट रहेकोमा, विद्युतको उच्च माग (पिक लोड) २,०७७ मेगावाट पुगेको छ । त्यसमा १,५९३ मेगावाट उत्पादन सम्भव भएको र बाँकी माग भारतबाट आयात गरेर पूर्ति गरिएको जानकारी दिइएको छ ।
प्राधिकरणले गर्मी याम सुरु भएसँगै भारतमा पनि माग बढेकाले रातिको समयमा मागअनुसार विद्युत आयातमा केही चुनौती भए पनि घरायसी ग्राहकलाई २४ सै घण्टा तथा उद्योगलाई पनि अधिकांश समयमा आपूर्ति गरिँदै आएको स्पष्ट गरेको छ ।
प्राधिकरणले हालको मौसम (प्रि मनसुन) का कारण कतिपय स्थानमा आँधी, हुरी, चट्याङ र अविरल वर्षाले संरचनामा क्षति पुग्दा अस्थायी अवरोध हुन सक्ने जनाएको छ। साथै, मर्मतसम्भार, भूमिगत लाइन विस्तार, सडक तथा खानेपानीको निर्माण कार्यका कारण पनि कतै कतै विद्युत बन्द हुने अवस्था आउन सक्नेछ, जसको सूचना अग्रिम रूपमा दिइँदै आएको छ ।
सामाजिक सञ्जालमा फैलिएका अतिरञ्जित हल्ला भ्रामक भएको भन्दै हाल लोडसेडिङ नभएको र आगामी दिनमा पनि घरायसी ग्राहकका लागि लोडसेडिङ नहुने प्राधिकरणले स्पष्ट पारेको छ । औद्योगिक ग्राहकलाई चाहिँ बेलुकाको समयमा खपत घटाउन आग्रह गरिएको छ ।
प्राधिकरणले नेपालको नदीमा बहाव बढ्ने र भारतबाट पनि आपूर्ति सहज हुने अवस्था रहेकाले हालको समस्या चाँडै समाधान हुने विश्वास व्यक्त गर्दै सबै उपभोक्तालाई धैर्य, सहयोग र सद्भावप्रति आभार व्यक्त गरेको छ ।

185 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता