काठमाडौं । पुँजी बजार रहेका ६५ लाख लगानीकर्तालाई टीएमएसको मोबाईल एपमा जोड्न सरोकारवालाहरुले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को ध्यानाकर्षण गराएका छन् ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणी चापागाईँलाई स्टक ब्रोकर एसोसिएसन अफ नेपाल (एसबान) को टोलीले यस्तो आग्रह गरेको हो ।
एसबानको टोलीले नेप्सेको कार्यालयमा पुगेर नवनियुक्त सीईओलाई बधाई तथा शुभकामना व्यक्त गर्दै यस्तो आग्रह गरेको हो ।
भेटमा एसोसिएसनका अध्यक्ष सागर ढकालले लगानीकर्तालाई तत्काल टीएमएसको मोबाइल एप कार्यान्वयनमा ल्याउन माग गर्नुभयो । अहिले पुँजी बजारमा ६५ लाख लगानीकर्ता पुगिसकेको जानकारी दिंदै भन्नुभयो, ‘उनीहरुले वर्षौदेखि टीएमएसको मोबाईल एप नहुँदा समस्या भोग्दै आएका छन् । तसर्थ यसलाई तत्काल कार्यान्यनमा ल्याउनु पर्छ ।’ साथै तत्काल टीएमसको मोबाइल एप कार्यान्यनमा ल्याएर लगानीकर्तालाई सहजीकरणका साथै उनीहरुको हितमा काम गर्न आग्रह गर्नुभयो ।
सो अवसरमा नवनियुक्त सीईओ चापागाईँले आफु निजी क्षेत्रबाट आएकाले उनीहरुको समस्याहरू राम्ररी बुझेको उल्लेख गर्दै केही नयाँ सुधारका काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘मैले नेप्सेको गतिविधिबारे दैनिक रूपमा जानकारी लिइरहेको छु,’ उहाँले भन्नुभयोे, ‘निकट भविष्यमा तपाईहरुले देख्नेगरी सुधारका कामहरु अघि बढाउने छु ।’
बधाई कार्यक्रममा ब्रोकर एसोसिएसनका उपाध्यक्ष नितेश अग्रवाल, महासचिव भक्तिराम घिमिरे, सचिव विनय पौडेल, कार्यसमिति सदस्य विशालकुमार अग्रवाल, जेलिना कँडेल, जयन्त श्रीवास्तव, प्रियन्सु अग्रवाल लगायतको उपस्थिति थियो ।
साझा अर्थ संवाददाता