लोभलाग्दो रुइसेको सुन्दरता
म्याग्दी: रूखबिरुवा नभएको हरियाली भिरालो पाखोको पृष्ठभूमिमा देखिने हिमशृङ्खला । पाखाको चरनमा रमाइरहेका गाईभैँसी, भेडाबाख्राका बथान । घाम, पानी र बादलको लुकामारी । कोलाहलमुक्त र एकान्त वातावरण । चराहरुको चिरबिर, चिरबिर आवाज । सिरसिरे बताससँगैको शीतलता ।
समुन्द्री सतहदेखि दुई हजार दुई सय आठ मिटर उचाइमा अवस्थित म्याग्दीको रघुगङ्गा गाउँपालिका-२ स्थित रुइसेमा पुग्दा कुनै चित्रकारले मेहनतका साथ तयार पारेको क्याभासको जस्तो आभास हुन्छ । रुइसेको सौन्दर्यले समय बितेको पत्तै नहुने बेनीबाट त्यहाँ घुमेर आएका व्यवसायी कृष्णराज पौडेलले बताउनुभयो । “गर्मी छल्न, बजारको कोलाहल, व्यावहारिक र व्यावसायिक तनाबाट मुक्त हुनका लागि रुइसे उपयुक्त ठाउँ रहेछ,” हालै दुई दिन रुइसेमा बिताएका उहाँले भन्नुभयो, “रुइसेको प्राकृतिक सुन्दरता शब्दमा बयान गरिसाध्य छैन ।”
रुइसेको प्रचारप्रसार, पूर्वाधार र खानेबस्ने सुविधा भएसँगै रुइसेमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । रुइसे एक दशकअघिसम्म भगवतीका किसानहरुले गाईभैँसी र भेडाबाख्राको गोठ लैजाने थलोका रुपमा मात्र सीमित थियो ।
पछिल्लो समय भगवती, पिप्ले, गलेश्वर, बेनी, बागलुङ, कुश्मा, पोखराबाट पर्यटकहरु घुम्न आउन थालेका रुइसेकी होटल व्यवसायी कमला शाहीले बताउनुभयो । “दश वर्षअघिसम्म गोठ राख्ने खर्कमा सीमित रुइसे अहिले पर्यटकीय गन्तव्यका रुपमा विकास भएको छ,” उहाँले भन्नुभयो, “व्यवसायी, कर्मचारी, शिक्षक र जागिरेहरु बिदा मनाउन आउने रुइसेमा अन्य समयमा पनि पर्यटक आउँछन् ।”
धौलागिरि, नीलगिरि, अन्नपूणर्, माछापुच्छ्रे हिमाल र सूर्योदयको दृश्य अवलोकन गर्न पाउनु रुइसेको प्रमुख आकर्षण हो । ऋतुअनुसार रुइसेको पाखामा फुल्ने फूल, वनजङ्गल, ग्रामीण बस्ती, पशुगोठ, जीवनशैली र पहाडी भूगोलको दृश्य अवलोकन गर्न पाइने रुइसे बस्तीदेखि टाढा भएकाले कोलाहलबाट मुक्त छ ।
म्याग्दीको सदरमुकाम बेनीदेखि गलेश्वर-पिप्ले-भगवती हँदै करिब एक घण्टा ३० मिनेट सवारी साधनको यात्रा गरेपछि रुइसे पुग्न सकिन्छ । कच्ची सडक पुगेको रुइसेमा रघुगङ्गा गाउँपालिकाले भ्यू टावर, पदमार्ग, वनभोजस्थल र डिभिजन वन कार्यालयले गुराँसको बगैँचा स्थापना गरेको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो ।
रुइसेमा बास बस्ने पर्यटकहरु एक घण्टा उकालो हिँडेर भेडिओडारसम्म पुग्न सक्छन् । हिउँदमा भेडिओडारमा आउने भेडाबाख्राका गोठले परम्परागत जीवनशैलीको झल्को दिन्छ । चरन क्षेत्रका भेडाबाख्राको दृश्य लोभलाग्दो हुन्छ । भगवतीको ऐतिहासिक कोतघर र मल्लकालीन रुइसे दरबारका भग्नाअवशेषहरु पनि अवलोकन गर्न सकिन्छ । रुइसेको रेष्टुरेष्टमा च्याउ, टुसा, निउरो, दौडेको अचार, लोकल कुखुरा र खसीबोकाको मासु, कोदोको ढिँडोलगायत परिकारको स्वाद लिन पाइन्छ ।
म्याग्दी र मुस्ताङलाई जोड्ने वैकल्पिक पदमार्ग धौलागिरि आइसफल पदमार्गको प्रवेशविन्दुमा पर्ने रुइसे-भेडिओडार क्षेत्रको पर्यटन प्रवद्र्धनका साथै त्यहाँसम्म पुग्ने सडक स्तरोन्नतिका लागि पहल गरेको हालै त्यस क्षेत्रको भ्रमण गर्नुभएका गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले बताउनुभयो । प्रदेश सरकारले पिप्लेदेखि भगवती जोड्ने पाँच किलोमिटर सडक कालोपत्र गरिसकेको उहाँले बताउनुभयो ।रासस
136
Sharesसम्बन्धित समाचार
पछिल्लो खबर
-
कर्णाली विकास बैंक समस्याग्रस्त घोषित
-
व्यावसायिक पशुपालनबाट वार्षिक १२ लाख आम्दानी
-
कजाकिस्तानमा ६७ यात्रुसहित उडेको विमान दुर्घटनाग्रस्त, २५ जना जीवितै उद्धार
-
एनसीएचएलको १६ औं वार्षिकोत्सव सम्पन्न
-
पाँच महिनामा सवा तीन लाख बैदेशिक रोजगारीमा, मंसिरमा मात्रै ८४ हजारले लिए श्रम स्वीकृति
-
ग्लोबल आइएमई बैंकद्वारा हाटबजार सञ्चालन