sajhaartha.com ९ पुष २०८१, मङ्गलवार
९ पुष २०८१, मङ्गलवार
24th, December 2024, Tuesday
ताजा खबर

निजी क्षेत्र हेर्ने डेढ दर्जन निकाय छन् थप आवश्यक छैन : अध्यक्ष ढकाल

५ भदौ २०८१, बुधवार साझा अर्थ संवाददाता
115
Shares

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र हेर्ने डेढ दर्जन निकाय रहेको सन्दर्भमा थप नियामक थप्न नहुने बताएका छन् ।  ‘नेपाल स्टार्टअप नेसन सम्मेलन–२०३०’ सम्पन्न कार्यक्रममा सम्बोधन गर्दै उनले उद्यमशीलता विकास गर्नुपर्ने बेलामा निजी क्षेत्रलाई निरुत्साहित गर्न नुहने पनि बताए ।  यसप्रति प्रधानमन्त्रीले पनि सम्बोधन गर्ने अपेक्षा राखेको बताउँदै उनले निजी क्षेत्रप्रति प्रधानमन्त्रीको सदासयताका लागि धन्यवाद दिन चाहेको जानकारी दिए ।

सरकारले भ्रष्टाचार नियन्त्रणसम्बन्धी विभिन्न कानून संशोधन गर्न बनाइएका विधेयकमा निजीक्षेत्रमा हुने भ्रष्टाचारलाई पनि समेट्ने प्रयास गरेपछि उद्यमी व्यवसायीको तर्फबाट केहि दिनअघि मात्र सम्बन्धित मन्त्री तथा सांसदहरूलाई भेटेर ध्यानाकर्षण गराएको पनि बताए । 

स्टार्टअप नेसन २०३० मा उनले राखेको मन्तव्यको पूर्णपाठ :

नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ र अन्य सरोकारवाला निकायले आयोजना गरेको यस महत्वपूर्ण कार्यक्रममा प्रमुख आतिथ्यता ग्रहण गरिदिनु भएकोमा सबैभन्दा पहिले म सम्माननीय प्रधानमन्त्रीज्यूप्रति हार्दिक आभार व्यक्त गर्दछु । 

यो स्टार्टअप नेसन सम्मेलन हामी तेस्रो पटक आयोजना गर्दैछौ । शुरुमा महासंघ, इसिमोड, पम नेदरल्याण्डस् अन्तरप्रेरणा लगायतका संस्था मिलेर कार्यक्रम आयोजना गरेका थियौ । 

यसपटक सरकार यसको आयोजनामा सघन रुपमा आएको छ । सम्माननीय प्रधानमन्त्रीज्यू लगायत मन्त्रीज्यूहरुको उपस्थितिले स्टार्ट अपको महत्वलाई थप उचाइ दिएको छ । 

बजेटमा नै स्टार्टअपका बिषयमा कार्यक्रम राख्न शुरु भएको करिब एक दशक पछि स्टार्ट अप परिभाषित भएको छ । 

चार महिना अघिमात्रै स्टार्टअपको कानूनी रुपमा परिभाषा आएको छ । लगानी सम्मेलनका समयमा संशोधन भएका आठ कानूनमध्ये एक औद्यागिक व्यवसाय ऐनमा स्टार्ट अपको परिभाषा समावेश भएको छ । 

त्यस लगत्तै स्टार्टअप नीति पारित भएको छ । आजको यस कार्यक्रममा उक्त स्टार्ट नीति पहिलोपटक मस्यौदा तयार पारि महासंघले सरकारलाई बुझाएको जानकारी साझा गर्न पाउँदा मलाई खुशी लागेको छ । 

ऐन र नियमावलीमा यी बिषय समावेश भइसकेपछि सरकारले स्टार्टअपलाई सहायता प्रदान गर्न सहज भएको छ । उत्साही भएर सरकारले यसपटकको बजेटमा १ अर्ब २५ करोड रुपैया स्टार्ट अपलाई अनुदान प्रदान गर्न छुट्याएको छ । अब यसको प्रभावकारी कार्यान्वयन हुने र आवश्यकता भएका युवाहरुसम्म यो रकम पुग्ने मैले विश्वास लिएको छु । 

यसका लागि हामीले युवाहरुलाई सहायता प्रदान गर्ने इन्कुवेसन वा इनोभेसन केन्द्रहरु स्थापना गर्नुपर्छ । त्यसको शुरुवातका रुपमा महासंघले सुदूरपश्चिम प्रदेश सरकार र कैलाली उद्योग वाणिज्य संघको सहकार्यमा इन्कुवेसन केन्द्र स्थापना गर्ने प्रक्रिया शुरु भएको छ । म संघीय र प्रदेश सरकारहरुसँग सहकार्य गर्न आग्रह गर्दछु । 

किनभने महासंघको ७७ वटै जिल्ला र नगरसमेत गर्दा १२३ स्थानमा प्रतिनिधित्व छ । सबै प्रदेशमा हाम्रो कार्यालय छ । हामीसंग यसलाई अगाडि बढाउन सक्ने क्षमता पनि छ । त्यसैले सरकारहरुको सहकार्यमा यी केन्द्रहरु स्थापना गर्न सक्षम छौ । एउटा केन्द्र महासंघको केन्द्रीय कार्यालयमा पनि स्थापना गर्न चाहिरहेका छौं । यसमा सबैको सहकार्यका लागि आग्रह गर्दछु ।

सरकारले निजी क्षेत्रलाई महत्व दिएको हामीले महसुस गरेका छौ । अर्थमन्त्रालयले हालै सार्वजनिक गरेको १०० दिनको कार्ययोजनामा महासंघले लामो समयदेखि उठाउँदै आएको उच्चस्तरिय आर्थिक सुधार आयोग गठन गर्ने बिषय पनि छ । यसले अन्तरनिकाय समन्वय गरि अल्प, मध्य र दीर्घकालीन महत्वका बिषयमा महत्वपूर्ण निर्णय गर्नेछ । 

तीन दिन अघिमात्रै करिब १७५ सांसद, समिति सभापतिज्यू र माननीय उपप्रधानमन्त्री एवं अर्थमन्त्री, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री र उर्जा मन्त्रीज्यूको उपस्थितिमा नीतिगत सुधारका लागि आग्रह गरेका थियौ । उहाँहरुले निजी क्षेत्रलाई काममा अवरोध नहुने प्रतिवद्धता जनाउनुभएको छ । 

संसदमा बिचाराधीन, भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अख्तियारले निजी क्षेत्र हेर्ने बिषयलाई हामीले गरेको मागलाई सकारात्मक रुपमा लिनुभएको छ ।  नीजि क्षेत्र हेर्ने डेढ दर्जन निकाय रहेको सन्दर्भमा थप नियामक थप्न नहुने बिषय म यहाँ पनि जोडदार रुपमा उठाउन चाहन्छु । 

यसैगरि, बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐनको प्रस्तावमा एक प्रतिशतभन्दा बढि शेयर हुनेले कुनै पनि संस्थाबाट ऋण लिन नपाउने व्यवस्था गरेको छ । यस्तो हुने हो भने लगानी लिन चाहनेको संख्या निक्कै कम हुनेछ । जसले आर्थिक वृद्धिमै असर पर्नेछ । 

हामीले उद्यमशीलता बिकास गर्नुपर्ने बेलामा निजी क्षेत्रलाई निरुत्साहित गर्न हुँदैन । मलाई पूर्ण विश्वास छ सम्माननीय प्रधानमन्त्रीज्यूले निजी क्षेत्रका समस्याहरुलाई सम्बोधन गर्नुहुनेछ । उहाँले निजी क्षेत्रप्रति देखाउनु भएको सदासयताका लागि धन्यवाद पनि दिन चाहन्छु ।  

हामीले युवाहरुलाई उद्यमशीलतामा संलग्न गराउन र अर्थतन्त्रमा योगदान पुर्याउन ढिला भइसकेको छ । सन् १९८० देखि २०१० भित्र अमेरिकामा स्टार्टअपहरुले करिब २५ रोजगारी सृजना गरेको विभिन्न अध्ययनहरुले देखाएका छन । भारत संसारको तेस्रो ठूलो स्टार्ट अप संजाल भएको मुलुक बनेको छ । हामी जस्तै अति कम बिकसित मुलुक बंगलादेशमा बर्षको करिब १० अर्ब स्टार्ट अपमा लगानी हुन थालेको छ । 

हामीकहाँ पनि यो सम्भावना छ । नेपालमा ६५ प्रतिशत जनसंख्या १५ देखि ६४ बर्ष उमेर समूहका छन । ती युवाहरु नेपालमा निजी क्षेत्र फस्टाउन नसक्दा रोजगारी दिन सक्ने निजी क्षेत्र भएको मध्यपूर्व र मलेशियामा काम खोज्न गएका छन । 

अहिले नेपालले तिव्र आर्थिक विस्तार गर्ने सम्भावना छ । दुइ ठूला दल मिलेर राजनीतिक र नीतिगत स्थीरताको प्रतिवद्धता जनाएका छन । हालसम्मकै उच्च विदेशी मुद्राको संचिति छ । भुक्तानी सन्तुलन सहज अवस्थामा छ । बैंकहरुसंग लगानी गर्न पर्याप्त रकम छ । क्रेडिट रेटिंग पनि भैरहेकाले विदेशी लगानी आउने सम्भावना छ । 

लगानीका सम्भावित स्रोत जुटाउन वाह्य क्षेत्रमा प्रबर्द्धनका लागि यही ४ गते महासंघ, संयुक्त राष्ट संघ र अर्थमन्त्रालयले संयुक्त रुपमा बिकासका लागि लगानी सम्मेलन गर्दैछ । 

सम्माननीय प्रधानमन्त्रीज्यूको आसन्न थाइल्याण्ड भ्रमणका क्रममा नेपाल थाइल्याण्ड बिजनेस फोरम आयोजना गर्दैछौ । यसअघि दुइपटक भारतमा गरि चीन र दुवइमा यस्तै कार्यक्रम महासंघले आयोजना गरिसकेको छ ।

लगानी सम्मेलनका क्रममा ८ वटा कानूनमा सुधार गरि लगानीकर्ता आकर्षित गर्न खोजिएको छ । द्धिपक्षीय लगानी सम्झौताको खाका तयार भएको छ । अब सम्झौता गर्दै जानुपर्छ ।

लगानी वृद्धि हुदै गए रोजगारी र राजस्व बढछ । समृद्ध नेपालको सपना साकार हुन्छ । यसमा सबै मिलेर काम गरौं । 

साझा अर्थ संवाददाता
५ भदौ २०८१, बुधवार

115

Shares

सम्बन्धित समाचार