काठमाडौँ । राष्ट्र बैङ्कका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले नेपाल सरकार अन्तरगतको बैङ्किङ क्षेत्रमा काम गर्दा नयाँ सीप र ज्ञान प्राप्त गर्न सकिने बताउनुभएको छन् ।
सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्कको बैङ्किङ सेवामा प्रवेश गरेका विद्यार्थीहरूलाई बधाई तथा सम्मान कार्यक्रममा बोल्दै उहाँले बैङ्किङ क्षेत्रको विश्व अहिले धेरै चुनौतीपूर्ण र प्रतिस्पर्धात्मक हुँदै गएकाले काम गर्ने कर्मचारीहरूले नयाँ प्रविधिको प्रयोग गर्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, “काम गर्दा तपाईंहरूले केबल बैङ्किङ प्रणालीका आधारभूत सीप मात्र होइन, अपार नवीनतम प्रविधिहरू र आर्थिक विश्लेषणका विविध पद्धतिहरू पनि सिक्ने अवसर पाउनुहुनेछ ।” थापाले बैङ्किङ क्षेत्रका चुनौतीहरूको विश्लेषण गर्दै भन्नुभयो, “बैङ्किङ अब केबल परम्परागत तहमा सीमित छैन, यसको प्रतिस्पर्धा र चुनौतीहरू दिनानुदिन बढ्दै गइरहेका छन् । अहिले कामका लागि १२ घण्टा समय दिनुपर्ने र ठूलो दबाब भइ जागिर छोड्ने प्रवृत्तिहरू देखिन थालेका छन् । यो अवस्था सुधार्न प्रविधि र नयाँ सीपहरूको प्रयोग अत्यन्त महत्वपूर्ण छ ।”
उहाँले प्रविधिको प्रभाव र यसको महत्वलाई सम्बोधन गर्दै प्रविधिको युगमा बैङ्किङ क्षेत्रका लागि नयाँ अवसर र चुनौतीहरू आएको बताउनुभयो । “यदि तपाईं बैङ्किङ क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहनुहुन्छ भने, तपाईंलाई डिजिटल प्लेटफर्म र प्रविधि सम्बन्धी ज्ञान प्राप्त गर्न अनिवार्य रूपमा ध्यान दिनु पर्छ । यससँगै ग्रीन फाइनान्स र म्याक्रो फाइनान्स जस्ता नयाँ क्षेत्रमा पनि ध्यान दिन आवश्यक छ,” उहाँले भन्नुभयो । थापाको भनाइ अनुसार, बैङ्किङ क्षेत्रमा भविष्यका अवसर र चुनौतीहरूलाई स्वीकार्दै नयाँ सीप र प्रविधिको उपयोग गर्न आवश्यक रहेको छ ।
साझा अर्थ संवाददाता