पात्रो

रेडियो

समाचार खोजी

भरतपुर भ्रमण वर्षको अवसरमा रैथाने खाना महोत्सव

साझा अर्थ संवाददाता ११ पुष २०८१, बिहिवार

चितवन, ११ पुसः भरतपुर भ्रमण वर्ष २०२४ का अवसरमा राष्ट्रिय रैथाने खाना महोत्सव आयोजना गरिने भएको छ । भोलि शुक्रबारदेखि १६ गतेसम्म पश्चिम चितवनको मेघौलीमा महोत्सव गर्न लागिएको हो ।
 
    जानकी माध्यामिक विद्यालय मेघौलीमा आयोजना गर्न लागिएको महोत्सवमा ५० वटा स्थानीय खानाका स्टलहरू रहने संयोजक मायाराम चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सव गर्न रु ६१ लख लागत लाग्ने अनुमान गरिएको छ । महोत्सवमा स्थानीय थारू, कुमाल, दराई, मगर, गुरुङ, बोटे, मुसहर समुदायसहितका खानाका परिकार राखिने छन् ।  स्थानीय समुदायको जीवनस्तरमा सुधार ल्याउन महोत्सव फलदायी हुने विश्वास गरिएको छ । महोत्सवमा एक लाखभन्दा बढी पर्यटकले सहभागिता जनाउने अनुमान गरिएको छ । 

भरतपुर महानगर प्रमुख रेनु दाहालले भ्रमण वर्षको समयमा लक्ष्यभन्दा बढी पर्यटक महानगरमा भित्रिएको बताउनुभयो । उहाँले महानगरपालिकाभित्र एक वर्षमा बाह्य पर्यटक दुई लाख र आन्तरिक १० लाख पर्यटकले यहाँ भ्रमण गरेका बताउनुभयो । “भ्रमण वर्षले यहाँका पर्यटकीय क्षेत्रको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन, आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्धिमा टेवा पुगेको छ । दिगो पर्यटन पूर्वाधार विकास, होटल रेष्टुरेन्टमा सेवा वृद्वि भएकाले पर्यटकको सङ्ख्या, बसाइँ अवधि एवं आर्थिक क्रियाकलापमा समेत वृद्वि भएको छ”, महानगर प्रमुख दाहालले भन्नुभयो ।
 
    महानगर उपप्रमुख चित्रसेन अधिकारीले महानगरपालिकाको विकाससँगै जनतालाई प्रत्यक्ष लाभान्वित बनाउने उद्देश्यले भ्रमण वर्षको आयोजना गरिएको र सो उद्देश्य प्राप्तिमा सफल भएको बताउनुभयो । स्थानीय जनतामा खाना महोत्सवले थप ऊर्जा मिल्ने उहाँले बताउनुभयो ।
 
    महोत्सवमा स्थानीय खानासँगै ७७ जिल्लाको प्रतिनिधित्व गर्दै ७७ मिटर लम्बाइको नेपालको नक्सा विशेष आकर्षकका रूपमा रहनेछ । महोत्सव अवधिमा विभिन्न स्थानीय र राष्ट्रिय कलाकारहरूको प्रस्तुति पनि रहनेछ ।
 
    मेघौली पश्चिम चितवनको पर्यटकीय गन्तव्य हो । नारायणी र राप्ती नदी किनारमा पर्ने यो ठाउँ सूर्यास्त हेर्नका लागि उपयुक्त गन्तव्य मानिन्छ । पछिल्लो समय निकुञ्जको पश्चिमी क्षेत्रमा वन्यजन्तुको सङ्ख्या बाक्लिँदै जाँदा पर्यटकहरू आकर्षित हुने गरेका छन् ।

289 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सम्बन्धित समाचारहरु