दोलखाः सरकारले हप्ताको दुई दिन बिदा दिने निर्णय गरेसँगै दोलखामा आन्तरिक पर्यटकहरुको चहलपहल बढेको पाइएको छ । इन्धन संकटका कारण हप्तामा आइतवार समेत बिदा दिने सरकारको निर्णयसँगै आन्तरिक पर्यटकको चहल पहल बढेको पाइएको हो ।
शनिबार दोलखा आउने तथा आइतबारसम्म घुमफिर गरी बेलुका काठमाडौं फर्कने आन्तरिक पर्यटकहरुको संख्या बढेको सदरमुकाम चरिकोट स्थित होटल लक्ष्मीका सञ्चालक अर्जुन तिमिल्सीनाको भनाई रहेको छ । यस्तै दोलखाका प्रसिद्ध पर्यटकीय स्थलहरु जिरी, कालिञ्चोक, शैलुङ, दोलखा भीमेश्वर लगायतका क्षेत्रहरुमा भ्रमण गर्न आन्तरिक पर्यटकहरुको भीड लाग्ने गरेको ति स्थानका होटल ब्यावसायीहरुको भनाई रहको छ । शनिवार काठमाडौं तथा तराई बाट दोलखा आउने सवारी साधनको संख्या दुई दिन बिदा दिने निर्णय भएसँगै निक्कै बढेको जिल्ला ट्राफिक कार्यालय दोलखाले जनाएको छ ।

दुई दिन बिदाका कारण समय मिल्ने भएकोले काठमाडौं नजिकको गन्तब्य भएकोले आफू परिवार सहित दोलखा घुम्न आएको भक्तपुरका कृष्ण भूजुले बताउनु भयो । मुढे– चरिकोट सडक खण्ड राम्रो भएमा छोटो समयकालागि दोलखा घुम्न आउनेहरुको संख्या अझै बढ्ने उहाँको भनाई रहेको छ । पर्यटकको चहल पहल बढेसँगै शुक्रवार र शनिवार होटलहरुमा चाप बढ्ने हुँदा पहिले नै पर्यटकीय क्षेत्रका होटलहरुसँग सम्पर्क गरी बुक गरेर मात्रै भ्रमण गर्नु उपयुक्त हुने चरिकोटका स्थानीयहरुको आन्तरिक पर्यटकहरुलाई सुझाव छ ।