सुनसरी : पूर्वी तराईको चर्को गर्मीले सुनसरीको इटहरी उपमहानगरपालिका–२ र ३ मा अवस्थित पर्यटकीयस्थल ‘तालतलैया’ यतिबेला शीतलता खोज्ने पर्यटकको मुख्य रोजाइ बनेको छ। करिब २१.५ हेक्टर क्षेत्रफलमा फैलिएको हरियाली र जलाशययुक्त यो क्षेत्र गर्मी छल्न आउनेहरूको आकर्षक केन्द्रका रूपमा विकास भएको छ। मोरङको पथरीबाट आउनुभएका विकास खड्का शीतल छहारी र बोटिङ सुविधाले गर्मीमा पनि यहाँ आउँदा रमाइलो हुने बताउँछन्।
तालतलैया व्यवस्थापन समितिका अध्यक्ष गङ्गाबहादुर रायमाझीका अनुसार गर्मी मौसम सुरु भएसँगै पर्यटक सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ। सामान्य दिनमा दैनिक ५०० भन्दा बढी आउने पर्यटक अहिले २५०० भन्दा बढी पुगेका छन्। तीमध्ये करिब ४०% सीमावर्ती भारतीय सहर तथा सिरहा, सप्तरीका पर्यटक रहेका छन्। यहाँका ६ वटा पोखरी र दुई मोटरबोटले जलयात्राको अवसर दिएका छन्।
मोरङकी रविना थापा यहाँको खुला क्षेत्र, बोटिङ, फोटो स्पट, चिडियाखाना र फूलबारीले आकर्षित भएर आएको बताउँछिन्। उनी पहिले गर्मी छल्न भेडेटार जाने गरे पनि बोटिङको सुविधाले तालतलैया रोजेको सुनाउँछिन्। यहाँ दर्जनौँ चौतारा, बगैँचा, नर्सरी, चिडियाखाना (दुम्सी, मयुर, गिद्ध, चित्तल, घोडा, बाँदर), चिल्ड्रेन पार्क र पानीको फोहोरा रहेकाले बालबालिकासहितको परिवारका लागि उपयुक्त गन्तव्य हो।
आर्थिक वर्ष २०८१/८२ मा सहरी विकास मन्त्रालयले विनियोजन गरेको ८५ लाख रुपैयाँ बजेटले थप पर्यटकमैत्री संरचना, आधुनिक शौचालय र चिडियाखानाको स्तरोन्नति गरिएको छ। सङ्घीय र प्रदेश सरकारको सहयोगमा जीर्णोद्धार, वन्यजन्तुको बासस्थान संरक्षण र कलात्मक मूर्ति निर्माण भएका छन्। एकैपटक ७० भन्दा बढी समूहले वनभोज खान सक्ने क्षमता रहेको यस स्थानले स्थानीय व्यापारी इन्दु राणाका अनुसार चटपटे, मःम, चाउमिन र चिसो पेय पदार्थको बिक्री बढाएर व्यापारलाई टेवा पु-याएको छ। पूर्वी नेपालकै प्रमुख मनोरञ्जन गन्तव्यका रूपमा विकसित तालतलैया आन्तरिक पर्यटन प्रवर्द्धनको महत्वपूर्ण केन्द्र बन्दै गएको छ।