पात्रो

रेडियो

समाचार खोजी

सिंहदरबार वैद्यखाना पुगेर स्वास्थ्य मन्त्रीले भने औषधीको उत्पादन बढाउनुस्, चाहिने खर्च सरकारले दिन्छ

तर तलब बाँड्नका लागि सरकारको मुख नताक्नुस्

साझा अर्थ संवाददाता ४ पुष २०८१, बिहिवार

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखानामा अनुगमन गर्दै औषधीको उत्पादन बढाउन आग्रह गरेका छन् । मन्त्री पौडेलले भने – ‘‘औषधीको  उत्पादन बढाउनुस्, चाहिने खर्च सरकारले दिन्छ । तर तलब बाँड्नका लागि सरकारको मुख नताक्नुस् ।’’
सिंहदरबार वैद्यखानामा आयुर्वेदिक औषधी उत्पादनको अवस्थाबारे अनुगमन गर्दै मन्त्री पौडेलले वैद्यखाना सुधारका लागि विशेष चासो व्यक्त गरेका थिए । सोहीअनुरुप विकास समितिमा नयाँ नेतृत्वलाई जिम्मेवारी दिएका मन्त्री पौडेलले सोचजस्तो उत्पादन बृद्धि नभए पछि स्थलगत अनुगमन गर्दै समस्या समाधानका लागि उपायको खोजी थालेका हुन् ।
मन्त्रालयका उच्च अधिकारीसहित अनुगमनमा गएका मन्त्री पौडेलले वैद्यखानाको काम कारबाहीबारे जानकारी लिंदै आमरुपमा सुनिएका गुनासा समाधान गर्न समेत कर्मचारीहरुको ध्यानाकर्षण गराए ।
पर्याप्त औषधी उत्पादन नभएकोबारे गुनासो सुने पछि मन्त्री पौडेलले उत्पादन बढाउन हरसम्भव उपाय लगाउन आग्रह गरेका छन् ।
बजारमा जति औषधी उत्पादन भए पनि वैद्यखनाको औषधी बिक्री हुने गरेको स्मरण गराउँदै उनले भने – ‘‘तपाईंहरुले उत्पादन बढाउने काममा देखिने गरी परिवर्तन ल्याउनुपर्छ ।’’
मन्त्री पौडेललाई कर्मचारीहरुले स्रोत अभाव भएको गुनासो गरे पछि मन्त्री पौडेलले केही समयअघि पनि वैद्यखानाका लागि बजेट गएको प्रसंग निकाल्दै सार्वजनिक संस्थानहरुलाई पुँजीगत सहयोग गर्न सकिने तर तलब ख्वाउनका लागि सरकारले रकम दिन नसक्ने प्रष्ट पारे ।
तपाईंहरुको पुँजीगत क्षमता विकासका लागि के चाहिन्छ भन्नुस्, हामी सघाउँछौं, मन्त्री पौडेलले भने, तर उत्पादन नबढाउने अनि सरकारसँग पैसा मागेर तलब र उपादान दिन सकिँदैन ।
मन्त्री पौडेलले बजारमा सिंहदरबार वैद्यखानाको औषधी किन्न खोज्दासमेत नपाइने अवस्था आएको भन्दै पर्याप्त कच्चा पदार्थ उपलब्ध नगराउने ठेकेदारलाई कालोसूचीमा राखेर नयाँ विकल्प खोज्न भने ।
प्रधानमन्त्रीज्यूको पनि वैद्यखानाले उत्पादन बढाओस् भन्ने चासो छ, मन्त्री पौडेलले भने, बजारमा जति उत्पादन गरे पनि बिक्ने चिज पनि हामी किन बेच्न सक्दैनौं ?
मन्त्री पौडेलले तीन दिनभित्र समस्या नभै समाधानसाथ उत्पादन बढाउने योजना ल्याउन पदाधिकारीलाई आग्रह गर्दै भने, उत्पादन बढाउने योजनामा बजेट अभाव हुन दिन्नौं ।

194 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ