काठमाडौं/ नेपाल धितोपत्र बोर्डले संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीको सेयर निष्कासन तथा कारोबार सम्बन्धी विशेष व्यवस्था गर्दै धितोपत्र निष्कासन तथा बाँडफाँट ९आठौं संशोधन० निर्देशिका २०८१ जारी गरेको छ । संसोधित निर्देशिकाले सरकार र गैरआवासीय नेपालीहरु संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीको अवधारणा अगाडि सारेको छ । त्यस्ता कम्पनीहरुले सेयर निश्कासनका लागि अपनाउनुपर्ने प्रक्रियाहरुको विषयमा समेत निर्देशिकाले प्रष्ट व्यवस्था गरेको छ ।
निर्देशिकमा संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीले सेयर निष्कासन गर्दा जारी पुँजीको १० प्रतिशतभन्दा कम र ४९ प्रतिशतभन्दा बढी नहुने गरी गैरआवासीय नेपालीको लागि मात्र सेयरको निष्कासन गर्नुपर्ने व्यवस्था गरेको छ । निर्देशिकाअनुसार संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीले प्रिमियम थप गरी शेयर निष्काशन गर्न भने पाउने छैन । संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीको शेयर निष्काशन गर्नु पूर्व शेयर बोर्डमा दर्ता गर्नु पर्नेछ ।
संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीको निष्काशन गरिने शेयरको दरखास्त दिन सकिने न्यूनतम सीमा एक हजार कित्ता र अधिकतम सोको गुणांकमा हुने गरी व्यवस्था गरिएको छ । यस्ता कम्पनीले निष्कासन गरेको सेयर बाडँफाँट भएको मितिले १ वर्षको अवधि पूरा नभई खरिद बिक्री गर्न पाइने छैन ।
साझा अर्थ संवाददाता