पात्रो

रेडियो

समाचार खोजी

आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो

साझा अर्थ संवाददाता ३० कार्तिक २०८१, शुक्रवार

चितवन, ३० कात्तिकः नेपालमा बाहिरबाट आउने महको आयात रोकिएसँगै यहाँका किसानले उत्पादन गरेको महले बजार पाउन थालेको छ । यसअघि आयात खुला हुँदा यहाँ उत्पादित महले बजार नपाउँदा थन्किएर बसेको थियो ।

    नेपाल मौरीपालक महासङ्घका पूर्वअध्यक्ष शिव शर्मा पौडेलका अनुसार अहिले एक हजार दुई सय मेट्रिकटन मह बिक्री हुन बाँकी छ । सोमध्ये तीन सय मेट्रिकटन चितवनमा छ । यसअघि आयात खुला हुँदा तीन हजार एक सय ४५ मेट्रिकटन मह भण्डारणमा थियो । 

    बाहिरबाट आयत गर्न सरकारले रोक लगाएसँगै यहाँ भण्डारण गरिएको मह बिक्री भएको हो । पूर्वअध्यक्ष शर्माले भन्नुभयो, “पुरानै मह भण्डारमा थन्किएको छ । आयात नखोल्दिने हो भने यो मह सकिन समय लाग्दैन ।” आयात खोले पनि भन्सार दर ६० प्रतिशतले वृद्धि गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । 
    
    नेपालमा अहिले एक लाख ६० हजार घार मेलीफेरा र एक लाख ७० हजार घार सेरेना मौरी रहेको पूर्वअध्यक्ष शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार यी घारबाट वार्षिक चार हजार नौ सय मेट्रिकटन मह उत्पादन हुँदै आएको छ । यस वर्षको उत्पादन लिन सुरु हुन लागेको शर्माले बताउनुभयो ।

    महासङ्घका अध्यक्ष सुवासचन्द्र घिमिरेका अनुसार सरकारले गत वैशाखदेखि महको आयातमा रोक लगाएको छ । उहाँले भन्नुभयो, “अहिले विदेशी ठूला कम्पनीलेसमेत नेपालको मह खरिद गरेर बिक्रीवितरण गर्दै आएका छन् ।” 

    आफूहरूले सरकारलाई आयात नखोल्न आग्रह गरेको अध्यक्ष घिमिरेले बताउनुभयो । नेपालमा महको खपत वार्षिक नौ हजार दुई सय मेट्रिकटन हुने गरेको जनाउँदै उहाँले भन्नुभयो, “नेपालको महले नेपालीलाई पुग्दैन तर विडम्बना किसानको घरमा मह थन्किएर बसेको छ ।” 

    भारतबाट आयात हुने सस्तो महसँग नेपालको उत्पादनले प्रतिस्पर्धा गर्न नसकेको महासङ्घका अध्यक्ष घिमिरेको भनाइ छ । आयात रोकिए यहाँ उत्पादित महका लागि बजारको समस्या नहुने उहाँले बताउनुभयो । रासस

438 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ