हुन्डाई मोटर कम्पनीले १० करोड वैश्विक कार उत्पादनको कोसेढुंगा पूरा गरेको छ । सन् १९६७ मा कोरियाको उल्सान प्लान्टबाट उत्पादन सुरु गरेको कोरियन अटोमोबाइल कम्पनी हुन्डाईले ५७ वर्षमा
१० करोड कार उत्पादन पूरा गरेको सूचनामार्फत जनाएको छ । कम्पनीले १० करोड युनिट पूरा भएपछिको खुसीमा पहिलो कार आयोनिक पाँच सीधै ग्राहकलाई डेलिभरी गरेको जनाएको छ ।
कम्पनीका अनुसार पाँच करोड कार उत्पादनको कोसेढुंगा भेट्टाउन सन् २०१३ सम्म ४६ वर्ष लागेको थियो । साथै, थप पाँच करोड युनिट गाडी ११ वर्षमै उत्पादन गरी १० करोड संख्या पुर्याएको हो ।
हुन्डाई मोटर्सको कोरियाबाहेक टर्कीमा पहिलो अन्तर्राष्ट्रिय प्लान्ट सन् १९९७ मा बनाएको थियो । हाल कम्पनीको चेक रिपब्लिक, टर्की, भारत तथा अमेरिकालगायन आठ देशमा ११ वटा उत्पादन प्लान्ट रहेका छन् । यी प्लान्टहरूको कुल वार्षिक क्षमता ५० लाख युनिट रहेको बताइएको छ ।
साझा अर्थ संवाददाता