सर्लाही : समयमै लिलाम नहुँदा करोडाँै मूल्य बराबरका सवारीसाधन सर्लाही भन्सार कार्यालयमा थन्किएका छन् ।सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले बरामद गरेर भन्सार कार्यालयमा दाखिला गरेका दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधन सवारीसाधनका काम नलाग्ने गरी बिग्रिन थालेका हुन् ।
भन्सार कार्यालयको पार्किङ क्षेत्रमा खुला आकाशमुनि वषौँदेखि राखिएका सावारी साधानमाथि झारपात पलाएको छ । सर्लाही जिल्लाका विभिन्न क्षेत्रबाट चोरी–पैठारी, भारतीय नम्बरको गाडीमा नेपाली नम्बर राखेका लगायतका सवारीसाधन सुरक्षा निकायले नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाउने गरेको छ । भन्सार कार्यालयमा बुझाइएका अधिकांश सवारीसाधान भारतबाट अवैध रुपमा चोरी तस्करीका सर–समान ढुवानी गर्ने सवारी छन् । गाडीमध्ये सबैभन्दा बढी भन्सार प्रक्रिया पूरा नगरेका भारतीय नम्बरका मोटरसाइकल छन् । यस्तै भन्सार शुल्क नतिरी विभिन्न सामान चोरीपैठारी गरिरहेका अवस्थामा सुरक्षाकर्मीले नियन्त्रणमा लिइएका नेपाली गाडी पनि भन्सार कार्यालयको पार्किङमा राखिएका छन् ।
सुरक्षाकर्मीले चालु अवस्थामा भन्सार कार्यालय बुझाएका सवारीसाधन अहिले कामै नलाग्ने स्थितिमा पुगेको बताइएको छ । भन्सार कार्यालयमा थन्किएर रहेका सावारीसाधनलाई छठ पर्वलगत्तै लिलामी प्रक्रिया अगाडि बढाउने सर्लाही भन्सार कार्यालयका निमित प्रमुख भन्सार अधिकृत डम्बरबहादुर बस्नेतले जानकारी दिनुभयो ।
साझा अर्थ संवाददाता