काठमाडौँ, १९ असार: नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अत्यधिक तरलता व्यवस्थापन गर्न आज पुनः २५ अर्ब रुपैयाँ बराबरको केन्द्रीय बैंक ऋणपत्र निष्कासन गरेको छ। राष्ट्र बैंकले विगत दुई दिनअघि मात्रै क्रमशः ४५ अर्ब र ३५ अर्ब रुपैयाँको ऋणपत्र जारी गरिसकेको छ। आजको थप निष्कासनसँगै केन्द्रीय बैंकले मात्र तीनवटा बोलकबोलमार्फत कुल १ खर्ब ५ अर्ब रुपैयाँ बराबरको तरलता बजारबाट प्रशोचन गर्ने प्रक्रिया अघि बढाएको छ।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ग’ नाम दिइएको यस एकवर्षे ऋणपत्रको बोलकबोल आजै सम्पन्न हुनेछ। यस प्रक्रियामा इजाजतप्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। प्रतिस्पर्धात्मक बोलकबोलबाट तय हुने ब्याजदरको भुक्तानी प्रत्येक ६ महिनामा गरिनेछ भने साँवा रकम आगामी वर्ष असार १९ गते परिपक्व भएपछि फिर्ता हुनेछ। वित्तीय संस्थाहरूले यस ऋणपत्रलाई राष्ट्र बैंक वा अन्य संस्थामा धितो राखी कर्जा लिन सक्नेछन्। यो रकम अनिवार्य नगद मौज्दातमा गणना गर्न नपाइने भए तापनि वैधानिक तरलता अनुपातमा भने समावेश गर्न सकिनेछ। राष्ट्र बैंकले बोलकबोल सफल भएर पनि खातामा पर्याप्त रकम नराख्ने संस्थालाई २ दशमलव ५० प्रतिशत जरिबाना र ६ महिनासम्म खुला बजार कारोबारमा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लगाउने चेतावनी दिएको छ।