पात्रो

रेडियो

समाचार खोजी

बागमती नदीमा डेब्रिज थुप्रिनु काठमाडौँ डुबानको मुख्य कारण

साझा अर्थ संवाददाता २० असार २०८३, शनिवार

काठमाडौँ, २० असार: काठमाडौँ उपत्यकामा वर्षापछि बागमती नदीमा डेब्रिज (गेग्रान र फोहर) थुप्रिएर नदीको सतह उच्च हुँदा सहायक नदीहरूको पानीको निकास अवरुद्ध भई विभिन्न सडक डुबानमा पर्ने समस्या देखिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

यही असार १८ गतेको अविरल वर्षापछि काठमाडौँका विभिन्न सडक जलमग्न भई सवारी आवागमन प्रभावित बनेपछि ट्राफिक प्रहरीले विज्ञ टोलीसहित शुक्रबार बागमती र सहायक नदीहरूको स्थलगत निरीक्षण गरेको थियो। उक्त निरीक्षणका क्रममा बागमतीको सतह डेब्रिजले उच्च भएकाले टुकुचा, धोबीखोला, विष्णुमतीलगायत सहायक नदीबाट आउने पानी सहज रूपमा बग्न नसकी उल्टो बहाव (ब्याक फ्लो) हुने अवस्था देखिएको ट्राफिक प्रहरीले निष्कर्ष निकालेको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले बागमतीमा थुप्रिएको डेब्रिजले नदीको सतह उचालिएको र यसले सहायक नदीको पानीको निकास रोकेको बताउनुभयो। वर्षा हुँदा बागमतीको सतह सहायक नदीभन्दा माथि पुग्ने गरेकाले पानी नदीमा मिसिन नसकी सडकतर्फ फैलिने र सडक जलमग्न हुने गरेको उहाँले बताउनुभयो। वर्षात्को समयमा सडक डुबान न्यूनीकरणका लागि बागमतीबाट कम्तीमा डेढ मिटर गहिराइसम्म डेब्रिज हटाउनसके पानीको बहाव सहज हुने र सडकमा पानी जम्ने समस्या उल्लेखनीय रूपमा कम हुने उहाँको विश्वास छ।

बिहीबारको वर्षापछि सिंहदरबार, न्युप्लाजा, अनामनगर, सिनामङ्गल, गौशाला, तिलगङ्गा र माइतीघरलगायत क्षेत्रका सडक जलमग्न बनेका थिए। सडक डुबानका कारण सवारी सञ्चालन प्रभावित भए पनि ट्राफिक प्रहरी निरन्तर सडकमा परिचालित भई यातायात व्यवस्थापनमा खटिएको थियो। दीर्घकालीन समाधानका लागि नदीको नियमित सफाइ, डेब्रिज व्यवस्थापन र पानी निकास प्रणाली सुधारमा सम्बन्धित निकायले समन्वयात्मक रूपमा काम गर्नुपर्ने टोलीको सुझाव छ।

66 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

सम्बन्धित समाचारहरु