काठमाडौँ, १८ असार:नेपालमा सन् २०२६ को जुन महिनामा हवाई मार्गबाट ९१ हजार ३६३ जना विदेशी पर्यटक भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको अध्यागमन तथ्याङ्कअनुसार यो सङ्ख्या अघिल्लो वर्ष अर्थात् सन् २०२५ को जुन महिनाको तुलनामा १९ दशमलव ५ प्रतिशतले बढी हो, जतिबेला ७६ हजार ४२५ जना विदेशी पर्यटक नेपाल आएका थिए। यो आगमन कोरोना महामारी अगाडिको सामान्य अवस्था अर्थात् सन् २०१९ को जुन महिनाको तुलनामा समेत २२ दशमलव शून्य १ प्रतिशतले बढी हो, जसले नेपाली पर्यटन क्षेत्रमा उत्साहजनक सुधार भएको देखाउँछ।
कुल आगमनमध्ये दक्षिण एसियाली देशहरू सबैभन्दा ठूलो स्रोत बजारका रूपमा रहेका छन्, जहाँबाट ५२ दशमलव ८ प्रतिशत अर्थात् ४८ हजार २५४ जना पर्यटक आएका छन्। यसमा छिमेकी देश भारतबाट मात्रै ४१ हजार ८०९ जना पर्यटक आएका छन्। अन्य एसियाली देशहरूबाट १६ हजार १५२ जना पर्यटक भित्रिएका छन्, जसमा चीनबाट ९ हजार ९५५, जापानबाट ९२५, दक्षिण कोरियाबाट ९१४ र थाइल्यान्डबाट ५१४ जना रहेका छन्। यसैगरी युरोपबाट ६ हजार ९५४ पर्यटक आउँदा संयुक्त अधिराज्यबाट २ हजार ५००, जर्मनीबाट ५५७ र फ्रान्सबाट ५०२ जना नेपाल भित्रिएका छन्। अमेरिकी महादेशबाट कुल १३ हजार ११९ जना आउँदा अमेरिकाबाट मात्रै ११ हजार ८३६ जना आएका छन्। ओशिनिया क्षेत्रबाट ३ हजार ९० जना पर्यटक आउँदा अस्ट्रेलियाबाट २ हजार ८९६ र न्युजिल्यान्डबाट १९४ जना आएका छन्। अफ्रिकाबाट २९२ र मध्यपूर्वबाट ६७४ जना पर्यटक नेपाल आएका छन्। नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकारी सन्तोषविक्रम थापाका अनुसार अन्तर्राष्ट्रिय हवाई सम्पर्कको विस्तार, निरन्तरको प्रवर्द्धनात्मक अभियान र सुरक्षित गन्तव्यका रूपमा नेपालको बढ्दो छविका कारण पर्यटक आगमनमा यो दिगो वृद्धि सम्भव भएको हो।