काठमाडौँ, १८ असार: नेपाल धितोपत्र व्यवसायी संघले नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष डाक्टर गोपाल भट्टलाई भेटेर पूँजी बजारको सुधारका लागि १३ बुँदे ज्ञापनपत्र बुझाएको छ। संघले अनुसन्धानका क्रममा ब्रोकर कम्पनीहरूको मुख्य बैंक खाता रोक्का गर्दा दैनिक सेयर कारोबार र लगानीकर्ताको भुक्तानीमा गम्भीर अवरोध पुग्ने भएकाले यसलाई रोक्न माग गरेको छ। साथै, ग्राहक पहिचान प्रक्रियालाई सरल बनाउन धितोपत्र कम्पनीहरूको प्रणालीलाई राष्ट्रिय परिचयपत्रको केन्द्रीय डाटाबेससँग आबद्ध गर्नुपर्ने माग गरिएको छ।
संघले सेयर धितो कर्जामा बैंकहरूले आफ्नो प्राथमिक पूँजीको ४० प्रतिशतभन्दा बढी लगानी गर्न नपाउने हालको सीमालाई खुकुलो बनाउन राष्ट्र बैंकसँग समन्वय गर्न जोड दिएको छ। प्रत्युत्तरमा अध्यक्ष भट्टले बजार आधुनिकीकरणका लागि बोर्ड प्रतिबद्ध रहेको बताउँदै नयाँ वित्तीय उपकरणहरू भित्र्याउन नेप्सेलाई निर्देशन दिइसकेको जानकारी गराउनुभएको छ।