काठमाडौँ, १८ असार: नेपाली सेयर बजारमा लामो समयदेखि जारी मन्दी रोकिँदै दोस्रो दिन पनि सकारात्मक सुधार देखिएको छ। साताको चौथो कारोबार दिन असार १८ गते बिहीबार नेपाल स्टक एक्सचेन्ज परिसूचक ८.७८ अंक अर्थात् ०.३३ प्रतिशतले वृद्धि भई २६६१.७१ को विन्दुमा बन्द भएको छ।
लगातार ओरालो लागेर असार १६ गते मंगलबार २६०८.३३ को न्यूनतम विन्दुसम्म पुगेको बजारले बुधबार ४४.५९ अंकको बलियो कमब्याक गरेको थियो भने आज बिहीबार थप ८.७८ अंक बटुल्दै दुई दिनमा कुल ५३.३७ अंकको रिकभरी गर्न सफल भएको हो।
परिसूचकसँगै बजारमा खरिदबिक्रीको चाप अर्थात् टर्नओभर पनि सन्तोषजनक रूपमा बढेको छ। मंगलबार ३ अर्ब २५ करोडमा सीमित भएको कारोबार रकम आज थप वृद्धि भई कुल ४ अर्ब ११ करोड ७७ लाख ८५ हजार ७०० रुपैयाँ पुगेको छ। आज दिनभर बजारमा कुल ८९ लाख ६४ हजार २२३ कित्ता सेयरहरू किनबेच भएका छन्।
लागातारको गिरावटपछि २६०० को बलियो मनोवैज्ञानिक सपोर्ट जोनबाट नेप्से फर्किएपछि आम लगानीकर्तामा उत्साह थपिएको छ। आगामी आर्थिक वर्षको मौद्रिक नीति आउने समय नजिकिँदै गर्दा टर्नओभर सहितको यो सुधारले बजारमा सकारात्मक सेन्टिमेन्ट हाबी हुन थालेको संकेत गर्दछ।