भक्तपुर, १६ जेठ – ‘हस्तकला, मौलिक संस्कृति र दिगो पर्यटन–विकसित तथा व्यावसायिक भक्तपुर हाम्रो चिन्तन’ भन्ने नाराका साथ भक्तपुरमा शुक्रबारदेखि सुरु भएको दोस्रो भक्तपुर औद्योगिक प्रवद्र्धन व्यापार मेलाको पहिलो दिन १५ हजारभन्दा बढीले अवलोकन गरेका छन्।
भक्तपुर उद्योग वाणिज्य संघको आयोजनामा भएको दुईदिने सो मेलाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण बैद्यले गरेका थिए। उद्घाटन समारोहमा उनले सरकारले युवा रोजगार प्रवद्र्धनका लागि महासंघसँगको साझेदारीमा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए। स्थानीय तहहरूले पनि युवा स्वरोजगारमूलक तालिम महासंघमार्फत सञ्चालन गर्नुपर्ने धारणा उनले राखे।
कार्यक्रममा भक्तपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य रुकेश रञ्जितले यस मेलाले भक्तपुरको कला, संस्कृति र पहिचानलाई थप उत्कृष्ट बनाउने विश्वास व्यक्त गरे। भक्तपुर जिल्लाका मौलिक उत्पादन तथा स्थानीय स्रोत र साधनबाट बनेका हस्तकलाका सामानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन गर्न, र उद्योग, व्यापार, कृषि, पर्यटन तथा संस्कृतिको विकास गरी जिल्लाको आर्थिक समृद्धिमा टेवा पुर्याउनु मेलाको मुख्य लक्ष्य रहेको छ।
मेलाका संयोजक तथा संघका कोषाध्यक्ष रञ्जित मारिखुले सांस्कृतिक एवं पर्यटकीय नगरी भक्तपुरको औद्योगिक क्षेत्र परिसरमा आयोजित यो दुईदिने मेलाको अवलोकन करिब ५० हजारले गर्ने अपेक्षा गरिएको बताए। मिडिया संयोजक ऋषिकेश श्रेष्ठका अनुसार मेलामा मौलिक हस्तकला उत्पादन, कृषि उपज, नेपाली हाते तथा तानाका तयारी पोशाक, बालबालिकाका खेलौना, छालाका सामग्री, गरगहना, सौन्दर्य तथा शृङ्गारका सामग्री, मूर्ति तथा उपहार वस्तु, लत्ताकपडा, जुत्ता, स्थानीय तथा अर्गानिक खाद्य सामग्रीलगायतका ४८ वटा स्टल रहेका छन्।




