काठमाडौँ, १३ जेठ:सरकारी स्वामित्वको दुग्ध विकास संस्थानले दूधको बक्यौतामध्ये किसानहरूलाई १२ करोड रुपैयाँ भुक्तानी गरेको छ। कृषि मन्त्रालयको सुधार कार्ययोजना अन्तर्गत विगत ४ महिनाको कुल ५८ करोड रुपैयाँ बक्यौतामध्ये उक्त रकम भुक्तानी गरिएको हो।
हाल दैनिक करिब १ करोड रुपैयाँका दरले किसानको बैंक खातामा रकम जम्मा भइरहेको छ भने आगामी असार १३ गतेभित्र थप एक महिनाको बक्यौता फर्स्योट गर्ने संस्थानको तयारी छ। डिडिसीले किसानलाई अझै ४६ करोड रुपैयाँ तिर्न बाँकी छ, जसलाई आगामी दुई महिनाभित्र चुक्ता गर्ने लक्ष्य राखिएको छ। यद्यपि, निजी दुग्ध उद्योगहरूले देशैभरका किसानलाई अझै झण्डै ३ अर्ब रुपैयाँ बक्यौता तिर्न बाँकी नै छ।