काठमाडौँ, १३ जेठ: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सङ्घीय संसद्मा प्रस्तुत गर्नुभएको आर्थिक सर्वेक्षण अनुसार चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ६६ खर्ब रुपैयाँ पुग्ने र आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने अनुमान छ। यस वर्ष नेपालीको प्रतिव्यक्ति राष्ट्रिय आय १,५३५ अमेरिकी डलर पुग्ने प्रक्षेपण छ। कुल गार्हस्थ्य उत्पादनमा बागमती प्रदेशको हिस्सा सबैभन्दा बढी ३६.७ प्रतिशत छ भने कृषि क्षेत्रको योगदान २४ प्रतिशत रहनेछ। यद्यपि, धान उत्पादन ४.२० प्रतिशतले घटेर ५७ लाख ५ हजार मेट्रिक टनमा सीमित भएको छ।
समीक्षा अवधिमा सङ्घीय राजस्व ३.२ प्रतिशत र सरकारी खर्च १०.४ प्रतिशतले बढेको छ। थप ३ खर्ब ऋण परिचालन भएसँगै देशको कुल सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब रुपैयाँ (जीडीपीको ४३.६ प्रतिशत) पुगेको छ। अर्कोतर्फ, रेमिट्यान्स ३७.७ प्रतिशतले बढेर १४ खर्ब ५० अर्ब पुगेका कारण विदेशी विनिमय सञ्चिति ३४ खर्ब १४ अर्ब रुपैयाँको ऐतिहासिक उचाइमा पुगेको छ, जसले १८.५ महिनाको आयात धान्न सक्छ। तर, १० खर्ब ९८ अर्बको व्यापार घाटा भने मुख्य चुनौती बनेको छ।
प्रविधि र सामाजिक क्षेत्रमा पनि उत्साहजनक सुधार देखिएको छ। फागुनसम्म क्यूआर कोड कारोबार १ खर्ब २५ अर्ब नाघेको छ भने औसत महँगी २.१३ प्रतिशतमा सीमित छ। नेपालले सार्वभौम क्रेडिट रेटिङमा 'स्टेबल आउटलुक' पाएको छ। यस्तै, मानव विकास सूचकाङ्क ०.६२२ र नेपालीको औसत आयु ७१.३ वर्ष पुगेको छ भने मातृ मृत्युदर प्रतिलाख १५१ मा झरेको छ र आधारभूत विद्यालय भर्ना दर ९७.८ प्रतिशत पुगेको छ।