पात्रो

रेडियो

समाचार खोजी

मुलुकलाई ग्रे लिस्टबाट बाहिर निकाल्न सरकार प्रतिबद्ध

साझा अर्थ संवाददाता ६ जेठ २०८३, बुधवार
समाचार सारांश

* अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ग्रे लिस्टबाट बाहिर निकाल्न सरकार पूर्ण प्रतिबद्ध रहेको र यसका लागि सबै सम्भव उपाय अवलम्बन गरिने बताउनुभयो।

* सरकारले ग्रे लिस्टबाट बाहिरिन आवश्यक काम गरिरहेको र अवस्थामा सुधार आएको जनाए पनि एपीजीले नेपाललाई अझै पर्याप्त काम गर्न बाँकी रहेको टिप्पणी गरेको छ।

This summary was generated by AI and has been editorially reviewed.

काठमाडौँ, ६ जेठ : अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ग्रे लिस्ट (जुरिसडिक्सन्स अण्डर इन्क्रिज्ड मोनिटरिङ) बाट बाहिर निकाल्न सरकारले सबै सम्भव उपाय अवलम्बन गर्ने बताउनुभएको छ ।    
    
 प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समन्वयमा आज अर्थ मन्त्रालयमा आयोजित एसिया प्यासिफिक ग्रुप अन मनी लाउन्डरिङ (एपीजी) अन्तर्गतको इन्टरनेसनल कोअपरेसन रिभ्यु ग्रुप (आइसिआरजी) कार्ययोजनासम्बन्धी छलफलमा उहाँले नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।    
    
 एपिजीका प्रतिनिधिसँगको छलफलमा अर्थमन्त्री डा वाग्लेले सम्पूर्ण सामथ्र्य प्रयोग गरेर नेपाललाई ग्रे लिस्टबाट मुक्त गरिने बताउनुभयो । प्रधानमन्त्रीको नेतृत्वमा सरकारले सुशासन स्थापना गर्दै विकासलाई तीव्रता दिन प्रयास गरिरहेको उल्लेख गर्दै उहाँले जनमतको प्रमुख अपेक्षा सुशासन नै रहेको धारणा राख्नुभयो । नयाँ सरकार गठनपछि सुशासनका क्षेत्रमा भएका काम जनताले प्रत्यक्ष अनुभूति गर्न थालेको उहाँको भनाइ थियो ।    
    
 अर्थमन्त्री डा वाग्लेले ग्रे लिस्टबाट बाहिरिन तत्काल र नियमित रूपमा गर्नुपर्ने कामहरू सम्बन्धित सरकारी निकायहरूले अघि बढाइरहेको तथा त्यसको निरन्तर मूल्याङ्कन भइरहेको जानकारी दिनुभयो । पछिल्लो समीक्षा अवधिको तुलनामा ग्रे लिस्टसम्बन्धी सूचकमा नेपालको अवस्थामा सुधार आएको उहाँले बताउनुभयो ।    
    
 कार्यक्रममा एपिजीका उपकार्यकारी सचिव डेभिड स्यान्ननले नेपालले ग्रे लिस्टबाट बाहिरिन अझै पर्याप्त काम गर्न बाँकी रहेको टिप्पणी गर्नुभयो । छलफलमा अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, नेपाल राष्ट्र बैंकलगायत सम्बन्धित निकायका अधिकारीहरूको सहभागिता रहेको थियो ।    
    
 वित्तीय कारबाही कार्यदल (फाइनान्सियल एक्सन टास्क फोर्स–एफएटीएफ) ले २०८१ फागुनमा नेपाललाई दुई वर्षका लागि ग्रे लिस्टमा राखेको थियो । उक्त सूचीबाट बाहिरिन नेपालले १५ बुँदे सुधारका कार्ययोजनाप्रति प्रतिबद्धता जनाउँदै सोअनुसार काम गरिरहेको छ ।    

150 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ