काठमाडौँ : नेपाल धितोपत्र बोर्डमा नयाँ अध्यक्ष नियुक्ति बजेटअघि टुंगिने सम्भावना कमजोर देखिएको छ। पूर्वअध्यक्ष सन्तोष नारायण श्रेष्ठले राजीनामा दिएपछि बोर्ड नेतृत्वविहीन छ। सेबोन अध्यक्षका लागि ४७ जनाले आवेदन दिएका छन्। तर, छनोट समितिको नेतृत्वमै परिवर्तन भएपछि प्रक्रिया थप लम्बिएको छ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले स्वार्थ बाझिने कारण देखाउँदै समितिबाट राजीनामा दिएका थिए। त्यसपछि समितिको नेतृत्व प्रा.डा. सञ्जय आचार्यले सम्हालेका छन्।
अब समितिले ४७ आवेदकबाट ५ जनाको सर्टलिस्ट तयार गर्ने, अन्तर्वार्ता लिने र उत्कृष्ट ३ जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्ने प्रक्रिया बाँकी छ। मन्त्रिपरिषद्ले तीमध्ये एक जनालाई सेबोन अध्यक्ष नियुक्त गर्नेछ।तर, अर्थ मन्त्रालय अहिले जेठ १५ को बजेट तयारीको अन्तिम चरणमा रहेकाले नियुक्ति प्रक्रिया बजेटअघि नै पूरा हुने सम्भावना कमजोर देखिएको छ। सेबोनमा अध्यक्ष नहुँदा आइपिओ, हकप्रद सेयर स्वीकृति र पूँजी बजारसम्बन्धी महत्वपूर्ण निर्णयहरू ढिलो हुन सक्ने देखिन्छ।