काठमाडौँ, २६ वैशाखः नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र नेपाल–चीन सांस्कृतिक तथा शैक्षिक परिषद्को सहकार्यमा सोमबारदेखि पर्यटन व्यवसायीलाई लक्षित गर्दै आठौँ चिनियाँ भाषा कक्षा सुरु हुने भएको छ। शुक्रवार बोर्डमा आयोजित पत्रकार सम्मेलनमा ८० जना पर्यटन व्यवसायी तथा सरकारी कर्मचारीलाई यो कक्षा सञ्चालन गर्न लागिएको जानकारी दिइएको हो।
कार्यक्रममा बोर्ड सञ्चालक समितिका अध्यक्ष मुकुन्दप्रसाद निरौलाले चिनियाँ भाषा प्रशिक्षणले नेपाल–चीन सम्बन्धलाई अझ प्रगाढ बनाउने बताउँदै भाषा अभिव्यक्तिको माध्यम मात्र नभई संस्कृति र जनताबीचको पुल भएको उल्लेख गर्नुभयो। नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले नेपाल प्राकृतिक तथा सांस्कृतिक सम्पदाले सम्पन्न भएकाले चिनियाँ पर्यटकको प्रमुख रोजाइको गन्तव्य बनेको बताउँदै अप्रिल महिनामा मात्रै ११ हजारभन्दा बढी चिनियाँ पर्यटक नेपाल आएको जानकारी दिनुभयो। उहाँले यो तालिमलाई जनस्तरीय आदानप्रदानको महत्वपूर्ण कार्यक्रमको संज्ञा दिनुभयो। बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मत सिंह ऐरले प्रशिक्षणले पर्यटन क्षेत्रको जनशक्तिलाई व्यावसायिक रूपमा सक्षम बनाउने विश्वास व्यक्त गर्नुभयो। परिषद्का प्रमुख हरिशचन्द्र साहले सन् २०१६ देखि सुरु भएको यो आठौँ संस्करणसम्म आइपुग्दा २८० भन्दा बढी व्यवसायीले तालिम लिइसकेको बताउनुभयो। कक्षा वैशाख २८ गते सोमबारदेखि बेलुका ५ देखि ७ बजेसम्म सञ्चालन हुनेछ।




