पात्रो

रेडियो

समाचार खोजी

राष्ट्रिय पत्रकारिता दिवस आज मनाइँदै, प्रेसको व्यावसायिक सुरक्षा र जवाफदेहितामा जोड

साझा अर्थ संवाददाता २४ वैशाख २०८३, बिहिवार

काठमाडौँ : नेपालमा आज राष्ट्रिय पत्रकारिता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ। नेपाली पत्रकारिताको इतिहाससँग जोडिएको गोरखापत्र पहिलोपटक साप्ताहिकका रूपमा प्रकाशन भएको दिनको स्मरणमा हरेक वर्ष वैशाख २४ गते राष्ट्रिय पत्रकारिता दिवस मनाउने गरिएको हो।

विसं १९५८ वैशाख २४ गते गोरखापत्र साप्ताहिकका रूपमा प्रकाशन सुरु भएको थियो। सोही ऐतिहासिक दिनलाई आधार मानेर सरकारले विसं २०७३ देखि राष्ट्रिय पत्रकारिता दिवस मनाउन थालेको हो। दिवसलाई नेपाली पत्रकारिताको विकास, प्रेस स्वतन्त्रता, सामाजिक उत्तरदायित्व र पत्रकारको पेसागत सुरक्षाबारे समीक्षा गर्ने अवसरका रूपमा लिने गरिएको छ।

दिवसका अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रपति भवनमा विशेष समारोह आयोजना गर्ने भएको छ। समारोहमा पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याएका पत्रकारलाई राष्ट्रिय पत्रकारिता पुरस्कार तथा वरिष्ठ पत्रकार सम्मान प्रदान गर्ने कार्यक्रम रहेको छ।

राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाहसहित राज्यका विभिन्न निकायका प्रमुखहरूले पत्रकारिता क्षेत्रलाई शुभकामना दिएका छन्। सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले पनि सञ्चार क्षेत्रको भूमिकाबारे सन्देश जारी गरेका छन्।

दिवसले पत्रकारिताको ऐतिहासिक योगदान मात्र होइन, वर्तमान चुनौतीलाई पनि सम्झाउने गरेको छ। डिजिटल मिडियाको तीव्र विस्तार, गलत सूचना, पत्रकारको पेसागत असुरक्षा, सञ्चार संस्थाको आर्थिक स्थायित्व र मिडियाको सामाजिक जवाफदेहिताजस्ता विषय अहिले नेपाली पत्रकारिताका मुख्य प्रश्न बनेका छन्।

सूचना प्रवाह, जनचेतना, सार्वजनिक जवाफदेहिता र लोकतान्त्रिक अभ्यासमा पत्रकारिताको भूमिका महत्वपूर्ण मानिन्छ। त्यसैले राष्ट्रिय पत्रकारिता दिवसलाई प्रेस स्वतन्त्रताको रक्षा, व्यावसायिक पत्रकारिताको प्रवर्द्धन र जिम्मेवार सञ्चार अभ्यासलाई मजबुत बनाउने संकल्पका रूपमा पनि हेरिएको छ।

129 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ